Nidan Media

वीरगञ्जमा शान्ति-सुव्यवस्था कायम गर्न सबैपक्ष सहमत, कर्फ्यू हटाइयो

पर्सा । वीरगञ्जमा बसेको सर्वपक्षीय/सर्वदलीय बैठकले अब प्रदर्शन नगर्ने निर्णय गरेको छ । जिल्लाका प्रशासन कार्यलय पर्सामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

विगत केही दिनदेखि भइरहेको विरोध प्रदर्शनलाई मध्यनजर गर्दै शान्ति-सुव्यवस्था कायम गर्न सर्वदलीय तथा सर्वपक्षीय बैठक बसेको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए ।

बैठकले अन्य मुलुक वा स्थानमा भएका घटना तथा दुर्घटनालाई आधार बनाएर वीरगञ्जमा आन्दोलन तथा प्रदर्शन नगर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

पीडित पक्षले आन्दोलनका कार्यक्रम सञ्चालन गर्नुअघि प्रमुख जिल्ला अधिकारीको अग्रिम अनुमति लिई प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र पेश गर्नुपर्ने निर्णय गरेको गरिएको प्रमुख जिल्ला आधिकारी दाहालले जानकारी दिए ।

ज्ञापनपत्र पेश गरेपछिमात्र आन्दोलनका कार्यक्रम अघि बढाउन जोड दिइएको छ । भविष्यमा हुन सक्ने धार्मिक, सामाजिक सद्भावविरुद्धका गतिविधि नियन्त्रण गर्न तथा आवश्यक कानुनी कारबाहीका लागि सिफारिस गर्न जिल्ला सद्भाव संयन्त्र गठन गरिएको उनले बताए ।

उनकाअनुसार संयन्त्रमा जिल्लास्थित क्रियाशील राजनीतिक दलका प्रतिनिधि र विभिन्न धार्मिक समुदायका अगुवाहरू रहनेछन् । संयन्त्रमा हिन्दू समुदायबाट रञ्जित शाह र रञ्जन सिंह तथा मुस्लिम समुदायबाट महमद महबुव अली शेरु र अली अस्गर मदानी सदस्य रहने निर्णय भएको उनले जानकारी दिए ।

आवश्यकताअनुसार अन्य धार्मिक समुदायका प्रतिनिधि पनि समेटिने जनाइएको छ । साथै जिल्लास्थित प्रत्येक राजनीतिक दलबाट एक-एक जना प्रतिनिधि रहनेछन् । नेपाल पत्रकार महासंघका अध्यक्ष र नागरिक समाजका प्रतिनिधि पनि संयन्त्रमा सहभागी रहने व्यवस्था गरिएको छ ।

बैठकले सञ्चारमाध्यमलाई समाचार प्रकाशन तथा प्रसारण गर्दा सामाजिक सद्भावमा खलल नपुग्ने गरी संयम अपनाउन अनुरोध गरेको छ ।

धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भाव विथोल्न प्रोत्साहन गर्ने समूह वा आन्दोलनकारीलाई कानूनि दायरामा ल्याउन स्थानीय प्रशासन सक्रिय रहने निर्णय पनि गरिएको प्रजिअ अधिकारीले बताए ।

वैठकमा सबै पक्षले आआफ्नो समुदायभित्र भएका कमजोरीको आत्मसमीक्षा गर्दै अनुशासन, आत्मसंयम र सद्भाव कायम राख्न प्रतिबद्धता व्यक्त गरेका छन् ।

बैठकमा उपस्थित सबैले निर्णयलाई आआफ्नो सामाजिक सञ्जाल तथा वेबसाइटमार्फत सार्वजनिक गर्दै निर्णयको पक्षमा विज्ञप्ति जारी गर्ने सहमति पनि भएको छ ।

यता, जिल्ला प्रशासन कार्यालयले वीरगञ्जमा जारी गरेको कर्फ्यू आदेश हटाएको छ । प्रशासनले मंगलबार विज्ञप्ति जारी गरी ३ः३० बजेदेखि नै लागू हुने गरी कर्फ्यू आदेश हटाइएको जानकारी दिएको हो ।

सर्वपक्षीय बैठकले जिल्लाको शान्ति सुव्यवस्था सुदृढ हुँदै गएकोले कर्फ्यू आदेश हटाइएको छ। प्रशासनले सोमबारदेखि कर्फ्यू  आदेश जारी गरेको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.