काठमाडौँ । नेकपा एमालेले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेससँग सहकार्य गर्ने भएको छ । नेकपा एमालेको मंगलबार बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।
एमालेले प्रत्येक प्रदेशमा एक/एक जना उम्मेद्वार रहनेगरी कांग्रेससँग सहकार्य गर्नेगरी छलफल गरेको एमालेका उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
बैठकले कांग्रेससँग गठबन्धनको सिट टुंगो लगाउने र उम्मेद्वार छान्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।
कांग्रेससँगको छलफल टुंगोमा नपुगेकोले थप छलफल गर्नका लागि अध्यक्ष ओलीलाई जिम्मा दिइने निर्णय गरेको उपमहासचिव भट्टले जानकारी दिए ।
बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको तयारीका लागि पनि विभिन्न कमिटीहरू बनाउने निर्णय गरेको उनले बताए ।
उनका अनुसार अध्यक्ष ओलीको संजोजकत्वमा उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, ईश्वर पोखरेल, प्रदीप ज्ञावली र विष्णु रिमाल सदस्य रहनेगगरी घोषणापत्र मस्यौदा कमिटी बनाउने निर्णय गरिएको छ ।
बैठकले एमाले उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा विष्णु रिमाल, छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मत कार्की, रमेश बडाल र भिस्म अधिकारी सदस्य रहेको निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
बैठकले निर्वाचनसम्बन्धी काम गर्नका लागि पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई परिचालन गर्ने निर्णयसमेत उपमहासचिव भट्टले बताए ।
उनले नवनिर्वाचित युवा केन्द्रीय सदस्यलाईहरूलाई परिचालन गर्ने जानकारी दिए ।
निर्वाचनको लागि प्रदेश र निर्वाचनको संयोजक रहनेगरी कोशीमा शेरधन राई, मधेसमा लीलानाथ श्रेष्ठ, बागमतीमा महेश बस्नेत, राजधानीमा डा. राजन भट्टराई, गण्डकीमा खगराज अधिकारी, कर्णालीमा यामलाल कँडेल, सुदूरपश्चिममा गणेश ठगुन्ना, संगठन विभागमा भानुभक्त ढकाल, प्रचारमा विभागमा मिनबहादुर शाही र निर्वाचन विभागमा रमेश बडाललाई जिम्मेवारी दिइएको छ । खाली रहेका जिल्ला इन्चार्ज तथा संयोजकको ठाउँमा पनि जिम्मेवारी प्रदान गरिएको छ।





