Nidan Media

कांग्रेस महामन्त्रीद्वय थापा र शर्मालाई पार्टीबाट निष्काशन गर्ने तयारी !

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टीबाट निष्काशन गर्न सभापति शेरबहादुर देउवाको निवासमा छलफल भइरहेको छ ।

छलफलमा पूर्व उपसभापति विमलेन्द्र निधी, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र वर्तमान सहमहामन्त्री महेन्द्र यादव सहभागी रहेको उच्च स्रोतले बताएको छ ।

आज बस्ने पार्टीको कार्यसम्पादन समितिको बैठकमा सहमहामन्त्री यादवको प्रस्तावमा महामन्त्रीद्वय थापा र शर्मालाई पार्टीबाट निष्काशित गर्ने निर्णय गर्ने गरी तयारी भएको उच्च स्रोतले बताएको छ ।

नेतृत्वले नियमित महाधिवेशन समयमा नगर्ने निश्चित भएपछि ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले रोजेको विशेष महाधिवेशनलाई समयमै गर्न विधानअनुसार अगाडि बढेका महामन्त्रीद्धयलाई देउवाले हटाउन खोजेका हुन् ।

यसअघि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको नियमित महाधिवेशन स्थगित गरेका थिए । महामन्त्रीद्वयले बिहीबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशन स्थगितको जानकारी दिँदै विशेष महाधिवेशनको तयारी शुरू भएको जनाएका हुन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिको मंसिर १५ गतेको बैठकले पुस २६ देखि २८ गतेसम्म नियमित महाधिवेशन गर्ने निर्णय गरेको थियो । सोअनुसार कार्यतालिका पनि सार्वजनिक गरिएको थियो ।

नेतृत्वले सोअनुसार कार्यक्रम अगाडि नबढाएपछि महामन्त्रीद्वय तातेका हुन् । फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदै गर्दा जनतामाझ नयाँ नेतृत्व र म्यान्डेटअनुसार जानका लागि पनि विशेष महाधिवेशन जरुरी भएको हो ।

गत असोज २९ गते नै ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर विशेष महाधिवेशन डाक्न आग्रह गरेका थिए । विधानअनुसार यसरी माग गरेपछि तीन महिनाभित्र विशेष महाधिवेशन डाक्नुपर्ने प्रावधान छ ।

‘५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी केन्द्रीय कार्यालयमा दर्ता गराएको विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्ने प्राथमिक विकल्प नियमित महाधिवेशन नै थियो। तर नियमित महाधिवेशन निर्धारित समयमै सम्पन्न हुन नसक्ने अवस्था सिर्जना भएपछि फेरि पनि विकल्पका रूपमा विशेष महाधिवेशन नै अघि आएको छ,’विज्ञप्तिमा भनिएको छ ।

पार्टी विधानको दफा १७(२) बमोजिम विशेष महाधिवेशनसम्बन्धी मागलाई सम्बोधन गर्नु केन्द्रीय कार्यालयको जिम्मेवारी भएको र उक्त जिम्मेवारीअन्तर्गतका कार्यहरू सम्भव भएसम्म सर्वसम्मतिले अगाडि बढाइने विज्ञप्तिमा उल्लेख छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.