Nidan Media

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ३ बजे बैठक बस्ने तय भएको छ ।

बैठकमा पार्टीको १५औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने भनिएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको नियमित महाधिवेशन स्थगित गरेसँगै कार्यसम्पादन समितिको बैठक डाकिएको हो । महामन्त्रीद्वयले बिहीबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशन स्थगितको जानकारी दिँदै विशेष महाधिवेशनको तयारी शुरू भएको जनाएका हुन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिको मंसिर १५ गतेको बैठकले पुस २६ देखि २८ गतेसम्म नियमित महाधिवेशन गर्ने निर्णय गरेको थियो । सोअनुसार कार्यतालिका पनि सार्वजनिक गरिएको थियो ।

नेतृत्वले सोअनुसार कार्यक्रम अगाडि नबढाएपछि महामन्त्रीद्वय तातेका हुन् । फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदै गर्दा जनतामाझ नयाँ नेतृत्व र म्यान्डेटअनुसार जानका लागि पनि विशेष महाधिवेशन जरुरी भएको हो ।

गत असोज २९ गते नै ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर विशेष महाधिवेशन डाक्न आग्रह गरेका थिए । विधानअनुसार यसरी माग गरेपछि तीन महिनाभित्र विशेष महाधिवेशन डाक्नुपर्ने प्रावधान छ ।

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी केन्द्रीय कार्यालयमा दर्ता गराएको विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्ने प्राथमिक विकल्प नियमित महाधिवेशन नै थियो। तर नियमित महाधिवेशन निर्धारित समयमै सम्पन्न हुन नसक्ने अवस्था सिर्जना भएपछि फेरि पनि विकल्पका रूपमा विशेष महाधिवेशन नै अघि आएको छ-विज्ञप्तिमा भनिएको छ ।

पार्टी विधान बमोजिम विशेष महाधिवेशनसम्बन्धी मागलाई सम्बोधन गर्नु केन्द्रीय कार्यालयको जिम्मेवारी भएको र उक्त जिम्मेवारी अन्तर्गतका कार्यहरू सम्भव भएसम्म सर्वसम्मतिले अगाडि बढाइने विज्ञप्तिमा उल्लेख छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.