Nidan Media

आउँदै पाल्पा सिमेन्टको आईपीओ

काठमाडौँ । पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले पुस २५ गतेदेखि पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट पुस ९ गते कुल ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता साधारण शेयर (प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ) निष्कासनका लागि अनुमति पाएको थियो ।

सो स्वीकृतिअनुसार पहिलो चरणमा जारी शेयरमध्ये आयोजना प्रभावित क्षेत्र पश्चिम नवलपरासी (साविक नवलपरासी जिल्ला) तथा खानी रहेको पाल्पा जिल्लाका स्थानीय बासिन्दाका लागि पाँच प्रतिशत अर्थात १८ लाख ७५ हजार कित्ता साधारण शेयर निष्काशन गरिनेछ । यसको कुल रकम १८ करोड ७५ लाख रुपैयाँ हुनेछ ।

बाँकी ५६ लाख २५ हजार कित्ता शेयरमध्ये १० प्रतिशत अर्थात पाँच लाख ६२ हजार ५०० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि निष्काशन गरिने कम्पनीले जनाएको छ ।

वैदेशिक रोजगारीका लागि छुट्टाइएको शेयर सम्पूर्ण बिक्री नभएमा सो बराबरको शेयर समायोजन गरी सर्वसाधारणमा निष्काशन गरिने पनि कम्पनीको भनाइ छ ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली दुवैले न्यूनतम् १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्काशन छिटोमा माघ ९ गते र ढिलोमा माघ २५ गते बन्द हुनेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने छिटोमा पुस ३० गते र ढिलोमा माघ ९ गतेसम्म आवेदन दिन सकिनेछ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.