काठमाडौँ । ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वीसंवतको नयाँ वर्ष सन् २०२६ शुरू भएको छ । येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरू गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो ।
नयाँ वर्ष सन् २०२६ का अवसरमा यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज एकापसमा शुभकामना आदानप्रदान गरी मनाउँछन् ।
ग्रेगोरियन पात्रोका आधारमा चलाइएको इस्वी सन् सौरमासका आधारमा मात्र निर्माण गरिएको बताइन्छ । यसको आलोचना गर्नेहरूले सोही आधारमा पात्रो वैज्ञानिक नभएकोसमेत भन्ने गरेका छन् ।
सौरमास र चन्द्रमासको समन्वयबाट वैदिककालदेखि नै शुरू भएको विसं जति वैज्ञानिक नभए पनि हाल इस्वी सन्को प्रभाव विश्वव्यापी बन्दै गएको बताउन्छ ।
३६५ दिन छ घण्टा ४९ मिनेट छ सेकेन्डको एक वर्ष हुन्छ तर दिनभन्दा सानो घण्टा मिनेट र सेकेन्डको एकाइले गणनामा असर पर्ने भएकाले उल्लेख गरिँदैन ।
त्यसको व्यवस्थापनका लागि विसंका आधारमा गणना हुने पात्रोमा तीन वर्षमा अधिकामासको व्यवस्था गरिएको छ ।
इस्वी सन् अनुसारको पात्रोमा ‘लिपियर’ का रूपमा त्यसलाई व्यवस्थापन गर्न खोजे पनि पश्चिमा देशमै मतैक्यता हुन सकेको छैन ।
पछिल्लो समय नेपालमा पनि अङ्ग्रेजी नयाँ वर्ष उल्लासपूर्वक मनाउने चलन बढ्दै गएको छ ।
पोखरामा स्वागत
यता, पोखरामा अंग्रेजी नयाँ वर्षलाई भव्य रुपमा स्वागत गरिएको छ । पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा हजारौं दर्शकको सहभागितामा आतिसबाजीसहित नयाँ वर्ष २०२६ लाई स्वागत गरिएको हो ।
रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेबान) पोखराको आयोजनामा लेकसाइडमा आयोजित ‘पोखरा सडक महोत्सव’मा नयाँ वर्षको स्वागतार्थ मध्यरातमा आतिसबाजी गरिएको हो ।
आतिशबाजी गर्दा त्यहाँ उपस्थित हजारौं दर्शक सहभागी हुँदै रमाए । जब आयोजकले सांगीतिक कार्यक्रम भइरहेको स्थानमा ‘हृयाप्पी न्यू ईअर’ भन्दै आतिशबाजी गरे तब दर्शकको ताली र हुटिङले लेकसाइड गुञ्जयमान भयो ।
नयाँ वर्षको स्वागतार्थ हजारौं दर्शक बुधबार राति लेकसाइड पुगे । विशेष गरेर युवायुवतीको बाक्लो सहभागिता थियो । अन्य समयमा बाहृय पर्यटकको चहलपहल बढी हुने लेकसाइडमा बुधबार नयाँ वर्षको स्वागतमा आन्तरिक पर्यटकको संख्या हृवात्तै बढ्यो ।
लेकसाईडको करीब तीन किलोमिटर सडकमा आयोजित ‘पोखरा सडक महोत्सव’मा विहानदेखि मध्यरातसम्मै दर्शकको चाप थियो ।
महोत्सवको अवसरमा सबै होटलहरु भरिभराऊ हुँदा कयौं दर्शकहरू मध्यरातमा घर फर्किए भने अग्रिम बुकिङ गर्नेहरू होटलमै बास बसे ।
विदेशमा स्वागत
भारतको दिल्लीको इन्डिया गेटमा राति अबेर सयौं मानिसहरू भेला भए र नयाँ वर्ष मनाए । जब घडीले १२ बज्यो र काउन्टडाउन भयो। जम्मू कश्मीरमा, मानिसहरूले हिमपातको बीचमा २०२६ लाई स्वागत गरे।
२०२६ मा प्रवेश गर्ने पहिलो देशहरूमध्ये न्यूजिल्याण्ड पनि थियो । घडीले १२ बज्दा अकल्याण्डको २४० मिटर अग्लो स्काई टावरमा लगभग तीन हजार ५०० आतिशबाजी गरिएको थियो। स्काई टावर न्यूजील्याण्डको सबैभन्दा अग्लो भवन हो। विश्वको सबैभन्दा पूर्वी स्थान भएकोले, न्यूजिल्याण्डले पहिले नयाँ वर्ष मनाउँछ।
जापान, चीन र सिंगापुरले आतिशबाजीको साथ नयाँ वर्ष मनाए। नयाँ वर्षको सुरुवातको घोषणा गर्न दक्षिण कोरियामा ठूलो घण्टी बजाइएको थियो। अष्ट्रेलियाको सिड्नी हार्बरमा परम्परागत आतिशबाजी प्रदर्शन हेर्न हजारौं मानिसहरू भेला भए।
यसैबीच, सात मिनेटको आतिशबाजी प्रदर्शनले मेलबर्नको क्षितिजलाई उज्यालो बनायो, जसले शहरलाई उज्यालो बनायो।





