काठमाडौँ । आज पौष शुक्ल एकादशी अर्थात् पुत्रदा एकादशी। पौराणिक एवं शास्त्रीय मान्यताअनुसार सन्तान प्राप्तिको कामना गर्नेहरूका लागि यो दिन विशेष महत्त्वको मानिन्छ।
यस एकादशीको विधिपूर्वक व्रत बस्नाले सन्तान सुख प्राप्त हुने र समस्त पाप नाश हुने विश्वास गरिन्छ।
भगवान् श्रीकृष्णले युधिष्ठिरलाई यस एकादशीको महिमा सुनाउँदै यसलाई सबै कामना र सिद्धि दिने तिथिको रूपमा व्याख्या गर्नुभएको धार्मिक ग्रन्थहमा उल्लेख छ। यस तिथिका अधिदेवता भगवान् लक्ष्मीनारायण हुनुहुन्छ।
पण्डित बालमुकुन्द देवकोटाका अनुसार आजको दिन भगवान्को पूजा गर्दा तिल, तुलसी, कुन्दको फल र पक्वान्न चढाउने तथा ब्राह्मणलाई घिउ दान गर्ने परम्परा छ।
परापूर्वकालमा सन्तान नभएर चिन्तित भावतीपुरीका राजा सुकेतुमानले वनमा ऋषिमुनिहरूको सल्लाहअनुसार पुत्रदा एकादशीको व्रत बसेपछि तेजस्वी पुत्र प्राप्त गरेको कथा यस पर्वसँग जोडिएको छ।
यो व्रत बस्नाले यस लोकमा सन्तान सुख र परलोकमा स्वर्ग प्राप्त हुने जनविश्वास रहेको छ।
साथै, यस दिनको माहात्म्य सुन्नाले मात्र पनि अश्वमेध यज्ञ गरे सरहको फल प्राप्त हुने शास्त्रीय मान्यता छ।
सन्तान प्राप्तिको इच्छा राख्ने भक्तजनले आजदेखि नै ‘देवकीसुत गोविन्द…’ मन्त्रको जप र सन्तान गोपाल स्तोत्रको पाठ गर्ने गर्दछन्।





