Nidan Media

देशभर पश्चिमी वायुको प्रभाव: कोशी र गण्डकी प्रदेशमा हल्का वर्षासँगै हिमपातको सम्भावना

काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहँदा तराईका धेरैजसो स्थानमा बाक्लो हुस्सु लागेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र कर्णाली प्रदेशमा आंशिक बदली रहेको छ भने बाँकी पहाडी तथा हिमाली क्षेत्रको मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ।

पहाडी तथा हिमाली क्षेत्रमा भने आंशिक बदली रहनेछ। महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना छ।

आज राति पनि तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो कायमै रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहने भए तापनि बाँकी क्षेत्रको मौसम सफा रहने देखिन्छ।

गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा भने रातिको समयमा पनि हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

तराईमा लाग्ने बाक्लो हुस्सुका कारण भिजिविलिटी कम भई यातायात र हवाई उडान प्रभावित हुन सक्ने तथा हिमाली क्षेत्रमा हिमपातले चिसो बढाउने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.