पोखरा । मुद्रण उद्योग संघ कास्कीको अध्यक्षमा दिनेशचन्द्र बास्तोला निर्वाचित भएका छन् ।
संघको शनिबार सम्पन्न १६औँ साधारणसभा एवं छैठौँ अधिवेशनले बास्तोलालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
बास्तोला पोखरा उद्योग वाणिज्य संघमा उपाध्यक्ष छन् ।
संघको वरिष्ठ उपाध्यक्षमा रामप्रसाद भुर्तेल, प्रथम उपाध्यक्षमा प्रकाशराज पौडेल र द्वितीय उपाध्यक्ष पदम श्रेष्ठ, महासचिवमा राजन कुमाल, सचिवमा अनन्त प्रधानाङ्ग, कोषाध्यक्षमा झंकनाथ अधिकारी (नारायण) र सहकोषाध्यक्षमा मनोज बास्तोला निर्वाचित भए ।
संघको कार्यसमिति सदस्यमा कृष्ण रञ्जित, सुमन श्रेष्ठ, नवीन श्रेष्ठ र रोजिना श्रेष्ठ निर्वाचित भए ।
नवनिर्वाचित अध्यक्ष बास्तोलाले संघको गरिमा र व्यवसायिक प्रतिष्ठा अझ उचो बनाउने प्रतिवद्धता व्यक्त गरे ।
यसअघि नेपाल मुद्रण उद्योग महासंघको केन्द्रीय परिपत्र अनुसार यसपटक तीन वर्षे कार्यकाललाई घटाएर दुई वर्षमा नै निर्वाचन गरिएको हो ।
निर्वाचन संयोजक पदमलाल श्रेष्ठले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सपथ ग्रहण गराउनुका साथै प्रमाणपत्र वितरण गरेका थिए ।
निर्वाचन मण्डल सदस्यमा महासंघका केन्द्रीय उपाध्यक्ष महेन्द्र बजिमया, केन्द्रीय सदस्यहरू चिन्तामणि बास्तोला, वसन्त बास्तोला र कोपिला श्रेष्ठ थिए ।
कार्यक्रममा निर्वाचन संयोजक पदमलाल श्रेष्ठले नवनिर्वाचित कार्यसमितिको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आवश्यक सहयोगका लागि आफू सधैँ तयार रहने प्रतिवद्धता व्यक्त गरे ।
साथै उनले आगामी पुस २६ गते हुने नेपाल मुद्रण उद्योग महासंघको केन्द्रीय निर्वाचनमा द्वितीय उपाध्यक्ष पदको उम्मेद्वारसमेत रहेको जानकारी गराए ।
साधारणसभाको बन्द सत्रमा महासचिवको प्रतिवेदन पदम श्रेष्ठ, कोषाध्यक्षको प्रतिवेदन अनन्त प्रधानाङ्ग तथा प्रथम उपाध्यक्ष रामप्रसाद भुर्तेलले विधान संशोधनको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रस्तुत प्रतिवेदनहरू साधारण सभाबाट सर्वसम्मत रूपमा पारित भएको मुल आयोजक उपसमितिका संयोजक वसन्त बास्तोलाले जानकारी दिए ।
कार्यक्रममा नेपाल मुद्रण उद्योग महासंघका केन्द्रीय अध्यक्ष विष्णुप्रसाद तिवारीको मुद्रण पेशालाई राज्यले अझै स्पष्ट रूपमा नचिन्नु दुःखद भएको उल्लेख गर्दै व्यवसायीको हक–हितका लागि निरन्तर संघर्ष गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा महासंघका केन्द्रीय पूर्व अध्यक्ष माधव केसी, वरिष्ठ उपाध्यक्ष गोपाल ढकाल, निवर्तमान महासचिव कमल पोखरेल, केन्द्रीय सदस्यहरू कोपिला श्रेष्ठ र बसन्त बास्तोला, गण्डकी प्रदेश अध्यक्ष मनोहर दाहाल, पोखरा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष उमराज बास्तोलालगायतले बाेलेका थिए ।
अध्यक्ष चिन्तामणि बास्तोलाको अध्यक्षतामा भएको साधारण सभाको प्रथम सत्र महासचिव पदम श्रेष्ठ र बन्दसत्र सचिव राजन कुमालले सञ्चालन गरेका थिए ।
अधिवेशनअन्तर्गत शुक्रबार नेपाल मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशको साधारणसभा तथा लेले भेन्चर बी–टु–बी समिट २०८२ आयोजना गरिएको थियो ।
साथै शनिबार नीति, प्रविधि र योजना विषयक “मुद्रण सम्वाद” कार्यक्रम सम्पन्न भएको थियो । उपेन्द्र पौडेलले सञ्चालन गरेको सम्वाद कार्यक्रममा गण्डकी प्रदेश सरकारका नीति तथा योजना आयोग सदस्य दुर्गा लामिछाने, महासंघका अध्यक्ष विष्णुप्रसाद तिवारी, एक्स रोल्याण्डका प्रमुख दिनेश अर्याल तथा साउथ एसिया बिजनेस हाउसका प्रमुख आर.पी. महतो सम्वाद वक्ताका रूपमा सहभागी भएका थिए ।





