पोखरा । पोखरामा बिहीबार राति जीपको ठक्करबाट स्कूटर चालकको ज्यान गएको छ ।
मृत्यु हुनेमा स्याङ्जा फेदिखोला घर भइ हाल पोखरा महानगरपालिका वडा नं १७ हिमालीटोल बस्ने २० वर्षीय विवेक रानाभाट छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्कूटरको पछाडि सवार गोरखा सिरानचोक गाउँपालिका वडा नं १ घर भइ हाल पोखराको घारीपाटन बस्ने प्रविन गुरुङ घाइते भएका छन् । उनको अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार बिरौटाबाट पृथ्वीचोकतर्फ जाँदै गरेको ग३च १९०३ को बोलेरो जीपले राष्ट्रबैक चोकदेखि मुस्ताङ चोकतिर जाँदै गरेको ग९प ६१८५ नम्बरको स्कूटरलाई मुस्ताङचोकमा ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटना पश्चात फरार रहेका जीप चालक चितवनको इच्छाकामना गाउँपालिका वडा नं ३ का २० वर्षीय देवबहादुर गुरुङलाई वडा प्रहरी बैदामको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ ।




