Nidan Media

सकियो पोखराको दोपहरे हर्राबोटमा सुन्तला मेला

पोखरा । पोखरा महानगरपालिका क्षेत्रमा पहिलो पटक सुन्तला मेला गरिएको छ । सुन्तलाको उपभोग, स्थानीय उत्पादन, पर्यटन र अर्थतन्त्रमा सहयोग भन्ने नाराका साथ पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा, वडा नं.२१ को कार्यालय र वडा स्तरीय कृषि सञ्जालको आयोजनामा दोपहरे हर्राबोटमा सुन्तला मेला सम्पन्न भएको हो ।

मेलामा उत्कृष्ट सुन्तला कृषकहरूलाई सम्मान गरिएको छ । आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाका अनुसार पोखरा-२१ का कृषक प्रभा पौडेललाई नगद १० हजारसहित सम्मान गरिएको हो । उनले ४० रोपनी क्षेत्रफलमा करिब सात सय बोट सुन्तला लगाएकी छन् ।

यस्तै १२ रोपनी क्षेत्रफलमा दुई सय ४० सुन्तलाका बोट लगाएका पोखरा-२१ कै कृषक दीपेन्द्रराज आचार्यलाई नगद सात हजारले सम्मान गरिएको छ।

सोही वडामा १३ रोपनी क्षेत्रफलमा करिब एक सय ९० बोट सुन्तला लगाएका कृषक विजय सुवेदीलाई नगद पाँच हजारसहित सम्मान गरिएको छ ।

मेलामा सुन्तला ग्रेडिङ प्रतियोगितामा भीममाया सुवेदी प्रथम, भोजबहादुर थापा द्वितीय र लक्ष्मी थापा तृतीय भएका छन् ।

उनीहरूलाई क्रमशः पाँच हजार, तीन हजार र दुई हजार पुरस्कार प्रदान गरिएको छ ।

यस्तै सुन्तला खाने प्रतियोगिता श्रीधर बराल, अर्जुन अधिकारी र बाबुराम ढकाल प्रथम, द्वितीय र तृतीय भएका छन् । उनीहरूलाई पाँच केजी, तीन केजी र दुई केजी सुन्तला पुरस्कार प्रदान गरिएको छ ।

उत्कृष्ट झाँकी प्रदर्शन गरेको बालन एवं कला संस्कृति प्रतिष्ठान नेपाल प्रथम हुँदै नगद पाँच हजार प्राप्त गरेको छ ।

यस्तै प्रगतिशील आमा समूह द्वितीय र राधाकृष्ण आमा समूह तृतीय भएका छन् ।

उनीहरूलाई नगद तीन हजार र दुई हजार प्रदान गरिएको छ । सुन्तला स्टल सजावटमा हर्राबोट कृषक समूह प्रथम, नवसिर्जना कृषक समूह द्वितीय र वि गार्डेन कृषि फार्म तृतीय भएका छन् ।

उनीहरूलाई क्रमशः पाँच हजार, तीन हजार र दुई हजार उपलब्ध गराइएको छ ।

यसअघि मेलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका थिए ।

मेला उद्घाटन गर्दै नगर प्रमुख आचार्यले महानगरपालिका कृषकहरू साथमा रहेको प्रतिबद्धता जाहेर गरे ।

कृषकलाई मल, वीउविजन, उपकरण र प्रविधिमा आवश्यक सहयोगका लागि महानगरपालिका कृषकको साथमा रहेको उनले बताए ।

महानगर क्षेत्रको स्थानीय उत्पादनको बजारीकरणका लागि महाशाखामार्फत ढुवानी र बजार क्षेत्रमा कृषिबजार सञ्चालनमा सहजीकरण गरिरहेको उनले उल्लेख गरे ।

पोखराको उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा समेत पठाउने गरी गुणस्तरीय उत्पादनमा उनले जोड दिए।

वडाध्यक्ष दीपक सुवेदीले आफ्नो वडा सुन्तलाको पकेट क्षेत्रका रूपमा विकास गर्नु पर्नेमा जोड दिए।

स्थानीय कृषकहरूले प्राकृतिक विपत्तिका कारण धेरै समस्याहरू भोगिरहेको उल्लेख गर्दै महानगरपालिकाले विपद्बाट भएको क्षतिको परिपूरण र थप अनुदानका कार्यक्रमहरू सञ्चालनमा जोड दिनुपर्ने बताए।

पोखरा महानगरपालिका क्षेत्रमा यस वर्ष तीन सय ५० हेक्टर क्षेत्रफलमा ३५ सयदेखि चार हजार मेट्रिक टन सुन्तला उत्पादन हुने अनुमान गरिएको छ ।

यस व्यवसायमा करिब पाँच सय कृषक आबद्ध भएका छन् भने सुन्तलाको विक्रीबाट करिब १० करोड बढीको कारोबार हुने अनुमान गरिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.