Nidan Media

पशुपतिनाथ मन्दिरमा ‘धनुर्मास पूजा’ सकियो, आज उपवास

काठमाडौँ । सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा बिहीबार रातभर विशेष ‘धनुर्मास पूजा’ आराधना गरिएको छ।

पुस महिनाभर सूर्य धनु राशिमा रहने हुनाले यस महिनाको उपयुक्त साइत जुराएर हरेक वर्ष पशुपतिनाथमा यो परम्परागत पूजा गर्ने गरिन्छ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीका अनुसार धनुर्मास पूजा शुरू गर्नुअघि बिहीबार बिहान पशुपतिनाथलाई चिसोबाट बचाउन तातोपानीले स्नान गराइएको थियो।

बाला चतुर्दशीदेखि चिसो बढ्ने भएकाले पशुपतिनाथलाई तातोपानीले स्नान गराउने र ‘मीनपचास’ को समयमा चिसोबाट जोगाउन धनुर्मास पूजासहित तातो खिचडी खुवाउने वैदिक सनातनी परम्परा रहिआएको छ।

खिचडी भोग र मन्दिर बन्द रातभरको पूजापछि गेडागुडीबाट बनेको विशेष खिचडी पशुपतिनाथलाई भोग चढाइएको छ। धनुर्मास पूजा सम्पन्न भएको भोलिपल्ट अर्थात् आज शुक्रबार पशुपतिनाथलाई उपवास राख्ने गरिन्छ।

धार्मिक विश्वास अनुसार, उपवासका दिन महादेव बिहानै शिवपुरी डाँडामा गएर तोरीको तेल लगाएर घाममा शयन गर्ने मान्यता छ।

सोही विश्वासका आधारमा आज बिहानै पशुपतिनाथलाई तोरीको तेल लगाइएको छ।

आज दिनभर महादेव घाम ताप्न जाने जनविश्वासका कारण बेलुकी आरतीको समयमा शिवपुरी डाँडाबाट फर्कने अपेक्षामा विशेष आरती गरिन्छ।

शनिबार बिहानदेखि भने पुनः नियमित पूजा आराधना शुरू हुने कोषले जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.