काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले फागुन २१ को चुनावलाई नयाँ शक्तिहरूको उदयको प्रस्थान विन्दुको रुपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।
उज्यालो नेपाल पार्टीको पार्टी कार्यालय उद्घाटन समारोहमा उनले यस्तो जोड दिएका हुन् ।
उनले फागुन २१ को चुनावलाई चुनावको रुपमा मात्रै नभइ नयाँ शक्तिहरूको उदयको प्रस्थान विन्दु बनाउनेतर्फ सबै अगाडि बढ्नुपर्ने खाँचो औँल्याए ।
उनले भने, ‘अहिले देशमा चुनावको माहोल बढिरहेको छ । जेन-जी आन्दोलनबाट जुन सरकार स्थापित भएको छ, अवस्था जुन हिसाबले बनेको छ त्यसको मूल दायित्व भनेको चुनाव गर्ने हो । फागुन २१ मा चुनाव गर्ने हो । चुनावलाई, चुनावको रुपमा मात्रै होइन नयाँ शक्तिहरुको उदयको प्रस्थानविन्दु पनि हुनुपर्छ भन्ने सबैले कामना गर्नुपर्छ र यसतर्फ अगाडि बढ्नुपर्छ ।’
उनले देशमा सुशासन स्थापना गर्ने, रोजगारी सिर्जना गर्ने, समृद्धिका लागि अघि बढ्ने मागमा जेन-जी आन्दोलन भएको भन्दै यसको परिणाम राम्रो आएन फेरि पनि पूरानै अवस्थामा देश फर्कियो भने त्यो भन्दा ठूलो दुर्भाग्य अरु हुन नसक्ने बताए ।
‘सबै देशभित्र र देशबाहिरका सम्पूर्ण नेपालीहरूले अब एकताबद्ध भएर नयाँ शक्ति, नयाँ नेतृत्वहरुको समूह अघि बढ्नुपर्छ । युवा पुस्ता नेपालको समृद्धि र सुशासनका लागि अघि बढ्नुपर्छ । जेन-जी आन्दोलनको माग पनि यही हो’, उनले भने, ‘देशमा सुशासन स्थापना गर्ने, रोजगारी सिर्जना गर्ने, देशको समृद्धिका लागि अघि बढ्ने जुन मागमा जेन-जी आन्दोलन भयो, धेरै धनजनको क्षति भयो, कति शहीद भए, कति घाइते भए यसको परिणाम राम्रो आएन । फेरि पनि पूरानै अवस्थामा देश फर्कियो भने त्यो भन्दा ठूलो दुर्भाग्य अरु हुन सक्दैन ।’
देशलाई समृद्धतर्फ लैजान नयाँ युवा पुस्ता र नयाँ शक्तिहरू एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आजको आवश्यकता रहेको पनि उनको भनाइ छ ।
उनले भने, ‘देशलाई माथि लैजान वा समृद्धतर्फ लैजान नयाँ पुस्ता वा युवा पुस्ता र नयाँ शक्तिहरू एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आजको आवश्यकता हो । त्यसकारण यसतर्फ सम्पूर्ण नयाँ शक्ति र व्यक्तित्व जसले यो देशमा केही गरौँ भनेर काम गरिरहेको छन्, उनीहरू सबै एक भएर अघि बढ्नुपर्ने आजको आवश्यकता हो ।’





