Nidan Media

भाँडीखोला क्षेत्रमा पहिरो खस्दा मेची राजमार्ग अवरुद्ध, सवारीसाधन र यात्रुहरू बीचमै रोकिए

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका वडा नं १ स्थित भाँडी खोला क्षेत्रमा पहिरो खस्दा मेची राजमार्ग अवरुद्ध भएको छ।

बिहीबार बिहान राजमार्ग माथिको कुलोमा क्षति पुगेर पहिरो खस्दा करिब १० मिटर सडकखण्ड पुरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमका अनुसार पहिरोका कारण सडक पूर्णरूपमा अवरुद्ध भएपछि सवारी साधन र यात्रुहरू बीचमै रोकिएका छन्।

सडक अवरुद्ध भएको जानकारी पाउनासाथ प्रहरीचौकी मेवाखाबाट प्रहरीको टोली घटनास्थलमा पुगेको छ।

अहिले प्रहरी टोलीले सडक डिभिजन कार्यालय र स्थानीय तहसँग समन्वय गरी पहिरो पन्छाउने र सडक खुलाउने प्रयास गरिरहेको छ।

ठूलो ढुङ्गा र लेदो सहितको पहिरो खसेकाले सडक सञ्चालनमा आउन केही समय लाग्न सक्ने प्रहरीले जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.