Nidan Media

त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह आज, १६ हजार तीन सय विद्यार्थी दीक्षित हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह आयोजना गर्दैछ । समारोहमा नोबेल पुरस्कार विजेता वैज्ञानिक प्रमुख अतिथिका रूपमा सहभागी हुँदैछन् ।

प्रमुख अतिथि सन् २०१५ को भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त जापानी वैज्ञानिक तथा टोकियो विश्वविद्यालयका प्राध्यापक ताकाआकी काजिता हुन् ।

दीक्षान्त समारोहका लागि सम्पूर्ण तयारी पूरा भएको छ । मण्डप निर्माणदेखि दीक्षित विद्यार्थी तथा अभिभावक बस्ने व्यवस्थासम्म सबै तयारी सम्पन्न भइसकेको उपकुलपति प्रा. डा. दीपक अर्यालले जानकारी दिए ।

समारोहमा १६ हजार तीन सयभन्दा बढी विद्यार्थी दीक्षित हुनेछन् भने विद्यार्थी र अभिभावकसहित करिब ४१ हजार व्यक्तिको सहभागिता रहने अनुमान गरिएको छ।

त्रिविका विभिन्न सङ्काय र तहबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य तथा विद्यावारिधि तह गरी कुल ८९ हजार एक सय ९१ विद्यार्थी उत्तीर्ण भएका छन् ।

यस अवसरमा विभिन्न सङ्काय तथा तहमा उत्कृष्ट नतिजा हासिल गर्ने २५ जना विद्यार्थीलाई पदक प्रदान गरिनेछ । विश्वविद्यालयका अनुसार मानविकी, व्यवस्थापन, कानून र शिक्षा सङ्कायबाट ठूलो सङ्ख्यामा विद्यार्थी उत्तीर्ण भएका छन्।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.