Nidan Media

राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता, एकता घोषणा सभा पुस १६ मा हुने

काठमाडौँ । राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) बीच पार्टी एकता गर्ने सहमति भएको छ ।

बुधबार साँझ राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा दुई नेताबीच पार्टी एकता गर्ने सहमति भएको हो । सहमतिले राजावादी तथा राष्ट्रवादी शक्तिहरूबीचको विभाजन अन्त्य गरी एकीकृत रूपमा अघि बढ्ने बाटो खोलेको छ ।

बैठकले एकता सहमति पत्रमा हस्ताक्षर गर्ने निर्णय गरेको छ । सहमतिपत्रमा थापा र लिङदेन दुवैले हस्ताक्षर गरेका छन् । एकता घोषणा सभा पुस १६ गते राष्ट्रिय सभागृहमा हुने जनाइएको छ ।

सहमतिपछि अध्यक्ष थापाले जेन-जी युवाको आन्दोलनले नेपालको समग्र राजनीतिमा तरंग पैदा गरेको बताए । उनले राष्ट्रवादी शक्तिहरू एकतावद्ध हुनु महत्वपूर्ण रहेको र आवश्यकता रहेको पनि बताए ।

जेन-जी आन्दोलनले भ्रष्टाचारको अन्त्य गर्नुपर्ने र सुशासन दिनुपर्ने माग राखेको उनले बताए । भ्रष्टाचारको अन्त्य र सुशासन राष्ट्रवादी शक्तिले मात्रै पूरा गर्ने नेता थापाले बताए । उनले राष्ट्रवादी शक्तिलाई एक ठाउँमा आउन आह्वानसमेत गरे ।

२०७८ मंसिरमा राप्रपाको महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि कमल थापाले पार्टी छोडेर राप्रपा नेपाल पुनर्जागरण गरेका थिए ।

जबकि उनले राप्रपा कहिल्यै नछाड्ने भन्दै भागवत गीताको कशमसमेत खाएर पार्टी एकता गरेका थिए । त्यो कशम तोडेर उनले पार्टी छाडेर पुरानै पार्टीलाई ब्युँताए ।

आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा राजावादी शक्तिहरूको एकताले राजनीतिक वृत्तमा नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ ।

यो एकताले राप्रपालाई थप सशक्त बनाउने र राष्ट्रिय एजेन्डाहरूमा एकीकृत आवाज उठाउने विश्वास नेताहरूले व्यक्त गरेका छन् ।

एकता प्रक्रियाले पार्टीभित्र नयाँ ऊर्जा भर्ने अपेक्षा गरिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.