Nidan Media

आज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौँ । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको २०२५औँ जन्मोत्सवको अवसरमा आज नेपालसहित विश्वभर ‘क्रिसमस डे’ मनाइँदैछ।

नेपाल सरकारले यस विशेष अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ।

आजभन्दा २०२५ वर्षअघि इजरायलको वेथलेहेममा जन्मिएका येशु ख्रीष्टको सम्झनामा क्रिश्चियन धर्मावलम्बीहरूले यस दिनलाई प्रेम, शान्ति र मुक्तिको उत्सवका रूपमा मनाउने गर्छन्।

नेपाल ख्रिष्टियन महासङ्घका अनुसार आजको दिनलाई ‘मुक्ति दिवस’, ‘प्रेम दिवस’ र ‘शान्ति दिवस’ गरी तीन ओटै स्वरूपमा मनाउने परम्परा छ।

राजधानी र पर्यटकीय क्षेत्रमा विशेष रौनक काठमाडौँको ठमेल, बौद्ध, ललितपुरको झम्सिखेलका साथै पोखरा र सौराहा जस्ता पर्यटकीय क्षेत्रहरूमा क्रिसमसको विशेष रौनक देखिएको छ।

प्रमुख सहरका सपिङ मल, होटल र रेस्टुरेन्टहरू क्रिसमस ‘ट्रि’ र रङ्गीचङ्गी बत्तीले सजाइएका छन्।

क्रिश्चियन समुदायका मानिसहरू चर्चमा भेला भई सामूहिक प्रार्थना गर्ने, उपहार आदानप्रदान गर्ने र शुभकामना साटासाट गरी रमाइलो गरिरहेका छन्।

राष्ट्रिय महोत्सव र सहभागिता नेपाल ख्रिष्टियन महासङ्घले आज दिउँसो काठमाडौँमा ‘क्रिसमस महोत्सव २०८२’ आयोजना गरेको छ।

उक्त कार्यक्रममा सरकारका उच्च अधिकारी र मानव अधिकारवादीहरूको समेत उपस्थिति रहनेछ।

महासङ्घको दाबी अनुसार हाल नेपालमा करिब ३० लाख क्रिश्चियन धर्मावलम्बी र १३ हजारभन्दा बढी चर्च क्रियाशील छन्।

विगतमा बिदा कटौती गरिए पनि विसं २०७८ देखि सरकारले यो पर्वमा पुनः सबैका लागि सार्वजनिक बिदा दिन थालेपछि क्रिसमसको प्रभाव नेपाली समाजमा थप व्यापक बन्दै गएको देखिन्छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.