Nidan Media

निर्वाचनमा एक सय १४ दल चुनावी मैदानमा, थपिए १० लाख नयाँ मतदाता

काठमाडौँ । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्।

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले सोमबार सिंहदरबारमा आयोजित सर्वपक्षीय छलफलमा मतदाताको सङ्ख्या अघिल्लो निर्वाचनको तुलनामा ५.६५ प्रतिशतले वृद्धि भएको जानकारी दिएका हुन्।

मतदाता नामावलीको अन्तिम विवरण आगामी पुस १५ गते तयार हुने भए पनि हालसम्मको तथ्याङ्कले मतदाताको उत्साहजनक सहभागिता देखिएको छ।

निर्वाचनमा भाग लिनका लागि आयोगमा दर्ता भएका राजनीतिक दलहरूको सङ्ख्या पनि उल्लेख्य रूपमा बढेर ११४ पुगेको छ, जबकि २०७९ सालको निर्वाचनमा जम्मा ८७ दलले भाग लिएका थिए। दलहरूको सङ्ख्यामा भएको यो वृद्धिले आगामी निर्वाचनमा कडा प्रतिस्पर्धा हुने आयोगको अनुमान छ।

निर्वाचनलाई मितव्ययी र व्यवस्थित बनाउन आयोगले मतदान केन्द्रमा प्रयोग हुने ५१ प्रकारका सामग्रीहरूको पहिचान गरेको छ। आयोगले स्रोतको बचत गर्ने उद्देश्यले मतपेटिका र मसीको मौज्दात पर्याप्त रहेकाले ती सामग्री थप खरिद नगर्ने निर्णय गरेको छ।

अन्य आवश्यक सामग्रीमध्ये ३७ प्रकारका सामानहरू जिल्लास्तरबाटै खरिद गरिनेछ भने बाँकी १४ प्रकारका मुख्य सामग्रीहरू मात्र आयोगले केन्द्रबाट खरिद गरेर पठाउने तयारी गरेको छ।

स्वस्तिक छाप, स्ट्याम्प प्याड, मसी, डटपेन र धागो जस्ता साना सामग्रीहरूमध्ये पनि मौज्दात रहेकालाई प्रयोग गरी नपुग मात्रा मात्र खरिद गरिने प्रवक्ता भट्टराईले स्पष्ट पारेका छन्।

आयोगले निर्वाचन पर्यवेक्षणका लागि पहिलो चरणको अनुमति दिइसकेको छ र मुलुकभर निर्वाचनको उपयुक्त वातावरण बनाउन सरकार तथा सुरक्षा निकायहरूसँग निरन्तर परामर्श गरिरहेको छ।

निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन सुरक्षा योजनाका विषयमा पनि ठोस छलफल भइरहेको आयोगले जनाएको छ। पछिल्लो समय दल दर्तामा देखिएको आकर्षण र नयाँ मतदाताको सङ्ख्याले फागुन २१ का लागि तय गरिएको निर्वाचनप्रति राजनीतिक दल र आम नागरिकको चासो बढेको देखिन्छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.