काठमाडौँ । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू न्यायबाट भाग्न नभई रक्तपात रोक्न देश छाडेको दावी गरेकी छन् ।
उनले युनुस सरकारलाई हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा मुद्दा लैजान चुनौती दिँदै निष्पक्ष अदालतले आफूलाई निर्दोष ठहर गर्ने विश्वास व्यक्त गरिन् ।
अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसमाथि कडा आलोचना गर्दै उनले बंगलादेशको परराष्ट्र नीति परिवर्तन गर्ने कुनै जनादेश नरहेको बताइन् ।
उनले जनताबाट निर्वाचित नभएको सरकारले लिएका रणनीतिक निर्णयहरूले देशलाई दीर्घकालीन नोक्सान पुर्याउन सक्ने चेतावनी दिइन् ।
एएनआईसँगको इमेल अन्तर्वार्तामा शेख हसिनाले अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणको फैसलालाई “न्यायको नाममा राजनीतिक हत्या” भन्दै अस्वीकार गरिन् ।
आफूलाई आत्मरक्षा गर्ने अवसर नदिइएको र अवामी लिगविरुद्ध योजनाबद्ध राजनीतिक दमन गरिएको उनको आरोप छ ।
आगामी फेब्रुअरीमा तय गरिएको निर्वाचनप्रति पनि उनले गम्भीर प्रश्न उठाइन् । प्रतिबन्धित अवामी लिगबिना हुने चुनावलाई उनले “निर्वाचन होइन, राज्याभिषेक” को संज्ञा दिँदै युनुस सरकारले जनताको मतबिना शासन गरिरहेको आरोप लगाइन् ।
भारत-बंगलादेश सम्बन्धबारे शेख हसिनाले दुवै देशबीचको सम्बन्ध ऐतिहासिक र आधारभूत रहेको बताइन् ।
हाल देखिएको तनाव युनुस सरकारकै कारण भएको भन्दै उनले भारतप्रति शत्रुतापूर्ण अभिव्यक्ति, धार्मिक अल्पसंख्यकमाथि आक्रमण र अतिवादीहरूको प्रभाव बढेको आरोप लगाइन् ।
इस्लामवादी प्रभाव बढ्दै गएको विषयमा पनि चिन्ता व्यक्त गर्दै शेख हसिनाले अतिवादीहरूलाई सरकार र सार्वजनिक जीवनमा स्थान दिइएको आरोप लगाइन् ।
यसले केवल भारतमात्र होइन, सम्पूर्ण दक्षिण एशियाली स्थायित्वमा चासो राख्ने देशहरूलाई चिन्तित बनाउनु पर्ने उनको भनाइ छ। एजेन्सी





