काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज विश्वभर ‘विश्व ध्यान दिवस’ मनाइँदै छ।
योग र ध्यानलाई मानव स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीकार गर्दै राष्ट्रसङ्घले यस दिनलाई आधिकारिक मान्यता दिएसँगै नेपालमा पनि विभिन्न कार्यक्रमका साथ यो दिवस मनाउन लागिएको हो।
गत वर्ष डिसेम्बर ७ मा संयुक्त राष्ट्रसङ्घको महासभाले नेपालसहित १८ देशको प्रस्तावलाई सर्वसम्मतिले पारित गरेपछि डिसेम्बर २१ लाई विश्व ध्यान दिवसका रूपमा मनाउन थालिएको हो।
सन् २०१४ देखि शुरू भएको ११ वर्षको निरन्तर प्रयासपछि यो सफलता प्राप्त भएको हो।
नेपाललाई विश्वकै ‘ध्यानको राजधानी’ का रूपमा विकास गर्नुपर्ने उद्देश्यका साथ यस वर्ष पनि सरकारकै नेतृत्वमा विविध कार्यक्रम तय गरिएका छन्।
दिवसको अवसरमा आज बिहान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको छ।
यसैगरी, दक्षिणकाली नगरपालिकास्थित बोसनमा रहेको ब्रह्मानन्द सरस्वती ग्राममा ध्यानका बारेमा अन्तरक्रिया र सामूहिक ध्यान कार्यक्रम राखिएको छ।
अघिल्लो वर्ष पहिलोपटक सरकारी स्तरबाट टुँडिखेलमा मनाइएको यो दिवसलाई यस वर्ष पनि सरोकारवाला निकायहरूले उत्साहपूर्वक मनाइरहेका छन्।





