काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको ११औँ महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा गर्ने वातावरण नबनेको आरोप लगाएका छन् ।
ईश्वर पोखरेलको समूहले आयोजना गरेको छलफलमापछि उनले यस्तो आरोप लगाएका हुन् ।
उनले प्रतिनिधि छनोट, बन्दसत्रदेखि निर्वाचनसम्म नै पार्टीका संरचनाको दुरुपयोग गर्ने काम भएको बताए ।
यसले पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक अभ्यासमाथि प्रश्न चिन्ह खडा गरेको उनको भनाइ छ ।
उनले आगामी दिनमा यसको थप समीक्षा गर्ने पनि बताए । उनले लोकतान्त्रिक अभ्यासमा सहभागी भएपछि आएको परिणामलाई भने स्वीकार गर्ने बताए ।
एमाले अध्यक्ष केपी ओलीले ल्याएका राम्रा पक्षलाई समर्थन गर्ने र पक्षपातपूर्ण व्यवहार भएर प्रतिवाद गर्ने जानकारी दिए ।
उनले आगामी निर्वाचनलगायत बाह्य प्रतिस्पर्धामा भने एकजुट हुने बताए । विचारको आधारमा पार्टीभित्र अन्तरसंघर्ष भने जारी रहने उनको भनाइ छ ।
उनले अध्यक्ष केपी ओलीको व्यवहारमा कुनै परिवर्तन नआएको उल्लेख गर्दै सामूहिक निर्णय र नेतृत्व हस्तान्तरणको एजेण्डा भने उठाइरहने बताए ।
उनले पार्टीभित्र अपमान हुनेगरी कसैको मानमर्दन गरेमा प्रतिवाद गर्ने चेतावनी पनि दिए । पार्टीको महाधिवेशनमा आफ्नो पक्षले सफलता हासिल गर्न नसेकोमा पनि समीक्षा गर्ने भेलाले निर्णय गरेको उनले जानकारी दिए ।
निर्वाचनमा सहभागी भएर सफलता हासिल नसकेकाहरूलाई विचलिन नभई पार्टी निर्माणमा लाग्न आग्रह गरेको पनि उनले बताए ।





