काठमाडौँ । ‘साफ महिला क्लब च्याम्पियनशिप’को फाइनल खेलका लागि नेपालको सशस्त्र प्रहरीको एपीएफ र भारतको इस्ट बङ्गाल प्रतिस्पर्धा गर्दैछन् ।
फाइनल खेल आज साँझ ५ बजेदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुँदैछ । दुवै टिमले उपाधि जित्ने दाबी गरेका छन् ।
शुृक्रबार आयोजित प्रि-म्याच कन्फरेन्समा दुवै टोलीका कप्तान र प्रशिक्षकले फाइनलका लागि तयार रहेको बताए । प्रशिक्षक जिवेश पाण्डेले फाइनल खेलमा कमजोरी सुधार गर्दै लैजाने उल्लेख गर्दै त्यसका लागि सोहीअनुरूप तालिम गरिएको बताए ।
एपीएफकी कप्तान अनिता बस्नेतले भनिन्, “क्लबभन्दा पनि हामीले देशलाई नै प्रतिनिधित्व गरिरहेका छौँ, तयारी भइरहेको छ, इस्ट बङ्गालको सामना गर्न तयार छौँ ।”
इस्ट बङ्गालका प्रशिक्षक र कप्तानले पनि फाइनल खेलमा आफ्नो तर्फबाट उत्कृष्ट खेल हुने बताएका छन् । प्रतियोगितामा दक्षिण एसियाका विभिन्न पाँच राष्ट्रका च्याम्पियन क्लबहरू सहभागी थिए ।
यही मङ्सिर १९ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगितामा नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बङ्गाल, बङ्गलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागिता जनाएका थिए ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आयोजना गरेको साफ महिला क्लब च्याम्पियनशिपको विजेताले १० हजार अमेरिकी डलर र उपविजेताले पाँच हजार अमेरिकी डलर प्राप्त गर्नेछन् ।
लिग चरणमा एपीएफ र इस्ट बङ्गालले गोलरहित बराबरी खेलेका थिए । एपीएफले यसअघि पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले, बंगलादेशको नासरिन स्पोर्ट्स एकेडेमीलाई ४–० ले हराएको थियो भने भुटानको ट्रान्सपर्ट युनाइटेड एफसीसँग गोलरहित बराबरी खेलेको थियो ।




