Nidan Media

सुदूरपश्चिममा सार्वजनिक बिदा

कञ्चनपुर। मौलिक एवं ऐतिहासिक सांस्कृतिक पर्व भुवाको अवसरमा शुक्रबार सुदूरपश्चिम प्रदेशभर सार्वजनिक बिदा दिइएको छ ।

सुदूरपश्चिम प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार शुक्रबार प्रदेशका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिने घोषणा गरिएको हो ।

विशेषगरी, बाजुरा, बझाङ र अछाममा विशेष महत्वका साथ मनाइने यो पर्व द्वापरयुगसँग जोडिएको छ।

धार्मिक विश्वासअनुसार पाण्डव र कौरवबीचको धर्मयुद्धमा पाण्डवहरूले प्राप्त गरेको विजयको खुसियालीमा यो पर्व मनाउने गरिन्छ ।

यस पर्वमा प्रदर्शन गरिने भुवा नाचलाई वीरताको प्रतीकका रुपमा लिइने गरिन्छ।

पछिल्लो समय पहाडी जिल्लाबाट तराईतिर बसाइँसराइ गर्नेक्रम बढेसँगै यो पर्वको रौनक कैलाली र कञ्चनपुरमा पनि निकै बढेको छ ।

धनगढी, महेन्द्रनगरलगायत सहरी क्षेत्रमा पहाडी जिल्लाको मौलिकता झल्किने गरी भुवा नाच र देउडा खेलको विशेष आयोजना गरिँदै आएको छ । यस पर्वले पहाड र तराईबीचको सांस्कृतिक एकतालाई बलियो बनाएको छ ।

भुवा पर्व केबल मनोरञ्जन मात्र नभई यो एक सैन्य अभ्यास र ऐतिहासिक गाथाको सङ्गालोका रुपमा रहेको छ । यो पर्व पुस कृष्ण औँसीको अघिल्लो दिनदेखि शुरू भई तीनदेखि पाँच दिनसम्म उल्लासपूर्वक मनाइन्छ ।

पुरुषले परम्परागत लुगा (सेतो जामा र पगरी) लगाएर हातमा तरबार र ढाल लिइ सामूहिक रूपमा युद्धकला कौशल प्रदर्शन गर्छन् ।

प्रदेश सरकारले स्थानीय कला, संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यले विगतका वर्षदेखि नै यस पर्वमा बिदा दिँदै आएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.