काठमाडौँ | हाल नेपालका केही प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेष गरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा यसको प्रभाव रहे पनि अन्य भू-भागमा भने अहिले कुनै उल्लेखनीय मौसम प्रणाली सक्रिय छैन।
महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा आंशिक बदली (आकासमा हल्का बादल) लाग्ने सम्भावना छ। सुदूरपश्चिम बाहेक देशका अन्य सबै भू-भागमा भने आज मौसम मुख्यतया सफा रहनेछ।
आज रातीको समयमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका अन्य हिमाली भू-भागमा आंशिक बदली रहने देखिन्छ। यी क्षेत्र बाहेकका अन्य भू-भागमा राती पनि मौसम सफा नै रहने महाशाखाले जनाएको छ।
मौसम सफा रहे पनि देशभर चिसो बढ्ने क्रममा रहेकाले आवश्यक सतर्कता अपनाउन र बिहानको समयमा लाग्ने हुस्सु/कुहिरोबाट बच्न मौसमविद्हरूले सुझाव दिएका छन्।





