काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले व्यवसायीहरूलाई वर्तमान आर्थिक अवस्थाबाट निराश नहुन आग्रह गर्दै उच्च मनोबलका साथ अघि बढ्न आह्वान गरेका छन् ।
बिहीबार गोरखापत्र संस्थानले गरेको एक कार्यक्रममा गभर्नर पौडेलले गभर्नर पौडेलले विगतका कठिन समयको स्मरण गराउँदै निजी क्षेत्रले धेरै आरोह-अवरोह पार गरेर यहाँसम्म आइपुगेको बताए । उनले अबको समयमा पनि अघि बढ्न साहस गर्नुपर्नेमा जोड दिए ।
उनका अनुसार मनोबललाई स्थिर बनाइराख्ने केही आधार छन् । जसमा आवधिक र स्वच्छ निर्वाचन प्रमुख हो ।
कम स्रोत भएका व्यक्तिहरूले पनि स्वतन्त्र रूपमा उठेर चुनाव जित्न सक्नु लोकतन्त्रको सकारात्मक पक्ष भएको उनले उल्लेख गरे ।
परम्परागत दल बाहिरबाट पनि हरेक निर्वाचनमा प्रतिनिधि निर्वाचित हुनु देश अघि बढिरहेको संकेत भएको गभर्नर पौडेलको भनाइ छ ।
गभर्नर पौडेलले उत्पादनशील क्षेत्रमा लगानी बढाउन आह्वान समेत गरे ।
उर्जा र यातायातजस्ता पूर्वाधार क्षेत्रमा ठूलो खर्च गर्न आँट गर्नुपर्ने बेला आएको उल्लेख गर्दै उनले बैंकिङ क्षेत्रबाट आवश्यक सहयोग गर्न आफूहरू तयार रहेको स्पष्ट पारे ।
गभर्नर पौडेलले बोण्ड जारी गर्ने विषयमा पनि निजी क्षेत्रसँग निरन्तर छलफल र नेगोसेसन भइरहेको जानकारी दिए ।
उर्जा क्षेत्रमा उत्पादन, प्रसारण र वितरणमा थप लगानीको आवश्यकता औँल्याउँदै यातायात पूर्वाधारमा पनि ठूलो लगानी गर्न सकिने प्रशस्त सम्भावना रहेको बताए । यसका लागि नेपाल राष्ट्र बैंकले नीतिगत तथा प्रक्रियागत सहजीकरण गर्ने प्रतिवद्धता उनले जनाए ।





