Nidan Media

एमालेमा अध्यक्षसहित अधिकांश पदमा ओली पक्ष नै अगाडि

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना कार्य औपचारिक रूपमा शुरू भएको छ।

शुरूआती चरणमै अध्यक्षमा केपी शर्मा ओली नै अगाडि देखिएका छन् । ईश्वर पोखरेलभन्दा ओलीले तेब्बर मत ल्याएका छन् ।

महासचिवमा पनि ओली पक्षीय शंकर पोखरेल नै अगाडि छन् । सुरेन्द्र पाण्डे पछि छन् । अन्य पदाधिकारीमा पनि ओली पक्षीय उम्मेद्वार नै अगाडि देखिएका छन् । केही पदमा भने ईश्वर पोखरेल पक्षीय नेताहरू अगाडि छन् ।

विद्युतीय भोटिङ मेसिन बाट चिप्स संकलन गर्ने प्राविधिक कार्य सम्पन्न भएपछि निर्वाचन आयोगले मतदानको मुचुल्का उठाएर र प्रतिनिधिहरूको सहमति लिएर गणना प्रक्रिया अगाडि बढाएको हो।

बिहीबार बिहान करिब ७ बजे मतदानको सम्पूर्ण प्रक्रिया सकिएको थियो।

निर्वाचन आयोगका अनुसार विद्युतीय मेसिनको प्रयोग भएकाले मतगणना शुरू भएको करिब तीन घण्टाभित्रै सबै पदको अन्तिम नतिजा आइसक्ने सम्भावना छ।

यस महाधिवेशनमा कुल दुई हजार दुई सय ६३ प्रतिनिधि मतदाता रहेकामा दुई हजार दुई सय २७ जनाले मात्र आफ्नो मताधिकार प्रयोग गरेका छन् भने बाँकी ३६ जना प्रतिनिधि मतदानमा अनुपस्थित थिए ।

यस निर्वाचनबाट अध्यक्ष, महासचिवसहित १९ पदाधिकारी र तीन सय एक सदस्यीय केन्द्रीय कमिटीको फैसला हुनेछ।

अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीचको मुख्य प्रतिस्पर्धालाई लिएर अहिले महाधिवेशन स्थल भृकुटीमण्डप र देशभरका कार्यकर्तामा निकै उत्सुकता छाएको छ।

ओली पक्ष नै हावी भएपछि एमालेको लय पूर्ववत् तरिकाले नै चल्ने अनुमान गरिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.