Nidan Media

भेनेजुएला संकटमा संयम अपनाउन राष्ट्रसंघको आह्वान

काठमाडौँ । संयुक्त राष्ट्रसंघ (यूएन) का महासचिव एन्टोनियो गुटेरेसले क्यारेबियन क्षेत्रमा बढ्दो तनावप्रति गहिरो चासो व्यक्त गर्दै सबै पक्षलाई संयम अपनाउन र तत्काल तनाव न्यूनीकरण गर्न आह्वान गरेका छन्।

महासचिवका उपप्रवक्ता फरहान हकले दैनिक पत्रकार सम्मेलनका क्रममा अमेरिकाले भेनेजुएलाविरुद्ध चालेका पछिल्ला कदमहरूबारे सोधिएको प्रश्नको जवाफ दिँदै उक्त जानकारी दिए।

महासचिव गुटेर्रेसले क्यारेबियन क्षेत्रको वर्तमान अवस्थालाई निकै नजिकबाट अनुगमन गरिरहेको बताउँदै हकले सबै सरोकारवाला पक्षहरूलाई अन्तर्राष्ट्रिय कानून, संयुक्त राष्ट्रसंघको बडापत्र र विद्यमान कानूनी ढाँचाहरूको पूर्ण सम्मान गर्न आग्रह गरे। महासचिवले यस क्षेत्रमा शान्ति कायम राख्न सबैले आफ्नो दायित्व पूरा गर्नुपर्नेमा विशेष जोड दिएका छन्।

यसअघि गत मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोविरुद्ध महिनाौँदेखि जारी दबाब अभियानलाई थप सशक्त बनाउँदै भेनेजुएलाबाट आउजाउ गर्ने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दीको आदेश दिएको घोषणा गरेका थिए।

ट्रम्पको यस निर्णयले दुई देशबीचको सम्बन्धलाई थप शत्रुतापूर्ण बनाएको छ भने क्यारेबियन क्षेत्रमा सैन्य चहलपहल बढाएको छ। अमेरिकाको यस कदमको कडा प्रतिवाद गर्दै भेनेजुएलाले अमेरिकी निर्णयलाई अन्तर्राष्ट्रिय कानूनको घोर उल्लङ्घन र ‘समुद्री डकैती’ को संज्ञा दिएर निन्दा गरेको छ।

भेनेजुएला सरकारले यस नाकाबन्दीको विरुद्धमा संयुक्त राष्ट्रसंघमा औपचारिक रूपमा मुद्दा उठाउने र विश्व समुदायको ध्यानाकर्षण गराउने प्रतिबद्धता समेत व्यक्त गरेको छ। एजेन्सी

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.