काठमाडौँ। निर्वाचन आयोगले आगामी निर्वाचनलाई लक्षित गर्दै ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका, २०८२’ सार्वजनिक गरेको छ।
‘निर्वाचन शिक्षा तथा सूचनाको विस्तार स्वतन्त्र र निष्पक्ष निर्वाचनको पूर्वाधार’ भन्ने मूल नाराका साथ विशेष गरी सामाजिक अध्ययन विषयका शिक्षकहरूलाई लक्षित गरेर यो पुस्तिका तयार पारिएको हो। आयोगले आफ्नो आधिकारिक वेबसाइटमार्फत यो सामग्री सबैको पहुँचमा पुर्याएको छ।
कुल सातओटा परिच्छेदमा विभाजित यस स्रोत पुस्तिकामा निर्वाचनका विभिन्न महत्त्वपूर्ण पक्षहरूलाई समेटिएको छ। पहिलो परिच्छेदमा लोकतन्त्र र संविधानबारे चर्चा गरिएको छ भने दोस्रो र तेस्रो परिच्छेदमा निर्वाचन, राजनीतिक दलसम्बन्धी व्यवस्था, निर्वाचन प्रणाली र समावेशिता जस्ता विषयहरू समावेश छन्।
चौथो परिच्छेदमा निर्वाचन चक्र, मतदान प्रक्रिया, ‘नो भोट’ (नोटा) को अवधारणा र मतगणनाका बारेमा विस्तृत जानकारी दिइएको छ।
पुस्तिकाको पछिल्ला खण्डहरूमा निर्वाचन व्यवस्थापन गर्ने निकाय, यससँग सम्बन्धित कानुन र आचारसंहिताको पालना तथा अनुगमनबारे उल्लेख गरिएको छ।
अन्तिम परिच्छेदमा निर्वाचनका सरोकारवालाहरू, नागरिकको कर्तव्य र अधिकारका साथै निर्वाचन प्रक्रियामा शिक्षकको भूमिका र निर्वाचन सूचना केन्द्रको भ्रमण जस्ता व्यवहारिक पक्षहरूलाई प्रस्ट पारिएको छ।
यो सामग्रीले विद्यालय तहदेखि नै निर्वाचन र लोकतन्त्रबारे सही चेतना फैलाउन महत्त्वपूर्ण भूमिका खेल्ने आयोगको विश्वास छ।




