काठमाडौँ । १९ वर्षमुनि (यू-१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल अफगानिस्तानसँग पराजित भएको छ ।
दुबईमा आज एसिया कप अन्तर्गत समूह ‘बी’ को समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १२५ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २६.५ ओभरमै ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । अफगानिस्तानका लागि उजैरुल्लाह नियाजाईले ६१ रनको उत्कृष्ट इनिङ्स खेले ।
त्यस्तै ओस्मान सादातले २८ रन जोडे भने कप्तान महबूब खान ११ रनमा अविजित रहे । नेपालका अभिषेक तिवारीले २ विकेट लिए भने विपिन शर्माले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४६.४ ओभरमै सबै विकेट गुमाउँदै १२४ रनमा अलआउट भएको थियो । नेपालका लागि दिलसाद अलीले सर्वाधिक ३२ रन बनाए ।
चन्दन रामले २७ रनको योगदान दिए भने अभिषेक तिवारीले २० रन जोडे । अन्य ब्याट्सम्यानले अपेक्षित प्रदर्शन गर्न सकेनन् ।
अफगानिस्तानका जाइटुल्लाह शाहिनले ३ विकेट लिए भने अब्दुल अजिज र नुरिस्तानी ओमरजाई र वहिदुल्लाह जाद्रानले समान २-२ विकेट हात पारे ।
यस हारसँगै नेपाल प्रतियोगितामा लगातार तेस्रो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।
यसअघि नेपाल श्रीलङ्का र बङ्गलादेशसँग पनि कमजोर प्रदर्शनसहित पराजित भएको थियो ।
यो श्रृंखलामा गरेको प्रदर्शनका आधारमा भने नेपालको उमेर समूहको स्तर खस्केको अनुमान गर्न सकिन्छ । सिनियर टिमले विश्वभर वाहीवाही कमाइरहँदा अबको केही वर्षमै सिनियर टिममा पुग्नु पर्ने खेलाडीहरूको स्तर भने खस्कदै गएको हो ।
नेपाल बंगलादेशसँग ७ विकेटले पराजित भएको थियो । पहिले ब्याटिङ गरेको नेपालले १३० रनमात्र बनाउन सक्यो । जवाफमा बंगलादेशले २४ ओभर ५ बलमा ३ विकेटको क्षतिमा जित हासिल गर्यो ।
त्यस्तै श्रीलंकाविरुद्धको खेलमा नेपाल ८ विकेटले पराजित भयो । पहिले ब्याटिङ गरेको नेपालले ८२ रनमात्र बनाउन सक्यो । जवाफमा श्रीलंकाले १४ ओभर ५ बलमै २ विकेटको क्षतिमा जित हासिल गर्यो ।
तीन ओटै खेलमा नेपालले पहिले ब्याटिङ गरेर पूरै ५० ओभरसमेत खेल्न सकेन । प्रदर्शन निकै नै खस्किएको हो । दुर्भाग्य त के भने नेपालले तीन ओटै खेलमा टस हारेको थियो ।





