Nidan Media

एसिया कप क्रिकेट : नेपाल अफगानिस्तानसँग पराजित

काठमाडौँ । १९ वर्षमुनि (यू-१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल अफगानिस्तानसँग पराजित भएको छ ।

दुबईमा आज एसिया कप अन्तर्गत समूह ‘बी’ को समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १२५ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २६.५ ओभरमै ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । अफगानिस्तानका लागि उजैरुल्लाह नियाजाईले ६१ रनको उत्कृष्ट इनिङ्स खेले ।

त्यस्तै ओस्मान सादातले २८ रन जोडे भने कप्तान महबूब खान ११ रनमा अविजित रहे । नेपालका अभिषेक तिवारीले २ विकेट लिए भने विपिन शर्माले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४६.४ ओभरमै सबै विकेट गुमाउँदै १२४ रनमा अलआउट भएको थियो । नेपालका लागि दिलसाद अलीले सर्वाधिक ३२ रन बनाए ।

चन्दन रामले २७ रनको योगदान दिए भने अभिषेक तिवारीले २० रन जोडे । अन्य ब्याट्सम्यानले अपेक्षित प्रदर्शन गर्न सकेनन्  ।

अफगानिस्तानका जाइटुल्लाह शाहिनले ३ विकेट लिए भने अब्दुल अजिज र नुरिस्तानी ओमरजाई र वहिदुल्लाह जाद्रानले समान २-२ विकेट हात पारे ।

यस हारसँगै नेपाल प्रतियोगितामा लगातार तेस्रो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

यसअघि नेपाल श्रीलङ्का र बङ्गलादेशसँग पनि कमजोर प्रदर्शनसहित पराजित भएको थियो ।

यो श्रृंखलामा गरेको प्रदर्शनका आधारमा भने नेपालको उमेर समूहको स्तर खस्केको अनुमान गर्न सकिन्छ । सिनियर टिमले विश्वभर वाहीवाही कमाइरहँदा अबको केही वर्षमै सिनियर टिममा पुग्नु पर्ने खेलाडीहरूको स्तर भने खस्कदै गएको हो ।

नेपाल बंगलादेशसँग ७ विकेटले पराजित भएको थियो । पहिले ब्याटिङ गरेको नेपालले १३० रनमात्र बनाउन सक्यो । जवाफमा बंगलादेशले २४ ओभर ५ बलमा ३ विकेटको क्षतिमा जित हासिल गर्यो ।

त्यस्तै श्रीलंकाविरुद्धको खेलमा नेपाल ८ विकेटले पराजित भयो । पहिले ब्याटिङ गरेको नेपालले ८२ रनमात्र बनाउन सक्यो । जवाफमा श्रीलंकाले १४ ओभर ५ बलमै २ विकेटको क्षतिमा जित हासिल गर्यो ।

तीन ओटै खेलमा नेपालले पहिले ब्याटिङ गरेर पूरै ५० ओभरसमेत खेल्न सकेन । प्रदर्शन निकै नै खस्किएको हो । दुर्भाग्य त के भने नेपालले तीन ओटै खेलमा टस हारेको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.