Nidan Media

सुस्त गतिमा एमालेको मतदान, रातभर मतदान हुने, बिहीबार बिहानमात्रै सकिने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि चलिरहेको मतदान निकै सुस्त गतिमा भइरहेको छ ।

महाधिवेशन स्थल भृकुटीमण्डपमा भइरहेको मतदानमा आठ घण्टामा जम्मा आठ सय मत खसेको छ । यो गति हेर्दा रातभर मतदान हुँदा पनि बिहीबार बिहानैसम्म चल्नेछ ।

बिहान ९ः१२ बजेदेखि शुरू भएको मतदानमा साँझ ५ बजेसम्म ८०२ मतमात्र खसेको एमाले केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए ।

उनले मतदानमा मतदाताले ढिलोमा दुई घण्टा पाँच मिनेट र छिटोमा नौ मिनेटससम्म समय लगाएर मतदान गरेको बताए । उनका अनुसार मतदान गर्नका लागि सरदर एक जना मतदातालाई २५ देखि ३० मिनेट लाग्ने गरेको छ ।

उनले राति ८ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरेका प्रतिनिधिलाई राति अबेरसम्म मतदान गर्न पाउने व्यवस्था गरिने बताए । अहिले लाइनमा रहेका मतदातालाई सहजताका लागि टोकन वितरण गरिएको छ ।

एमालेमा नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको समूह प्रतिस्पर्धामा छन् ।

एमालेमा ३०१ केन्द्रीय सदस्यीय लागि करिब ६४२ जनाको उम्मेदवारी परेको छ । मतदानमा ८० वटा विद्युतीय भोटिङ् मेसिन प्रयोगमा ल्याइएको  छ ।

आयोगका उपाध्यक्ष पोखरेलका अनुसार मतदान सकिएको दुई घण्टामा परिमाण सार्वजनिक हुनेछ । महाधिवेशनमा दुई हजार २६३ मतदाता सहभागी छन् ।

आठ घण्टामा ८ सयले मत खसालेको अनुपातमा दुई हजार २६३ मतदाताका लागि कम्तीमा २० घण्टा लाग्छ । त्यो भनेको बिहीबार बिहान ५ बजेसम्मको समय हो ।

पुसको चिसोमा भृकुटीमण्डपको खुला ठाउँमा लाइनमा बस्नुपर्दा भने मतदाता ठूलो मारमा पर्ने निश्चित छ । मतदाताले कठ्याङ्ग्रिदै मत हाल्दै गर्नुपर्ने बाध्यता छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.