पोखरा । पोखरा महानगरपालिकाको ६७औँ स्थापना दिवसका अवसरमा समाजका विभिन्न विधामा महत्वपूर्ण योगदान पुर्याउने नौ जनालाई ‘पोखरेली नवरत्न’बाट सम्मान गरिएको छ ।
महानगरपालिकाले गायन/सङ्गीत क्षेत्रबाट अमृत गुरुङ, धार्मिक पर्यटन/कृषि उद्यम क्षेत्रबाट चन्द्रकान्त बराल, समाजसेवा/उद्योग क्षेत्रबाट चन्द्रकृष्ण कर्माचार्य र साहित्य क्षेत्रबाट तीर्थ श्रेष्ठलाई सम्मान गरेको हो ।
यस्तै, पत्रकारिता क्षेत्रबाट तिलकमान गुभाजु, स्वास्थ्य क्षेत्रबाट प्राडा बुद्धिबहादुर थापा, खेलकुद/शिक्षा क्षेत्रबाट प्राडा वीरेन्द्रसिंह गुरुङ, उद्यमशीलताबाट रामकली खड्का र शिक्षा सेवा/उद्योगबाट हरिप्रसाद पाण्डेलाई सम्मान गरिएको छ ।
उनीहरूलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले जनही दुई लाख दुई हजार २०२ रुपैयाँसहित ताम्रपत्र र दोसल्लाबाट सम्मान गरेका हुन् ।
यता, पोखरा महानगरपालिकाको वर्ष उत्कृष्ट कर्मचारी नवराज सापकोटा बनेका छन् । महानगरपालिकाको ६७ औं स्थापना दिवसको अवसरमा आयोजित मूल समारोहमा उनलाई वर्ष उत्कृष्ट कर्मचारी सम्मान घोषणा गर्दै सम्मानित गरिएको हो ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलगायतले उनलाई नगद ३५ हजार, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
उत्कृष्ट कर्मचारी सम्मान प्राप्त गरेका सापकोटा पोखरा-२६ मा सूचना अधिकारीका रुपमा कार्यरत छन् । उनीसहित पाँच जनालाई उत्कृष्ट कर्मचारी सम्मान प्रदान गरिएको हो ।





