Nidan Media

अपाङ्गता भएकी दीपाको ह्वीलचियर बन्जी जम्प

काठमाडौँ । नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाले बन्जी जम्प गरेर साहस र आत्मविश्वासको उदाहरण प्रस्तुत गरेकी छन् ।

सिन्धुलीकी दीपा देवकोटाले सफलतापूर्वक बन्जी जम्प गर्दै साहसिक खेलकुदमा अपाङ्गता बाधा होइन अवस्थामात्रै हो भन्ने सन्देश दिएकी छन् । उनले मानिसको कुनै पनि अवस्थाले उसको जीवनमा बाधा ल्याउने छैन भनेर देखाइदिइन् ।

स्पाईनल बाईफिडा शारीरिक अपाङ्गता हुँदा हुँदै पनि देवकोटाले बन्जी जम्प गरेर समाजमा व्याप्त नकारात्मक सोँचलाई चुनौती दिएकी छन् ।

उनी सक्रिय अपाङ्गता अधिकारकर्मी समेत हुन् । उनी अपाङ्गता भएका व्यक्तिकोलाई विभिन्न सामाजिक कार्य गरी उदाहरण समेत बनेकी छन् ।

उनले अपाङ्गता भएका व्यक्तिहरू पनि समाज, समुदाय र राष्ट्रका हरेक गतिविधिमा समान रूपमा सहभागी हुन सक्षम छन् भन्ने सन्देश यस साहसिक कार्यमार्फत प्रवाह गरेकी छन् ।

देवकोटा भनिन्छन्, “अपाङ्गता कमजोरी होइन, आत्मबल र अवसर पाएमा हामी पनि सबै क्षेत्रमा अघि बढ्न सक्छौँ। मेरो यो प्रयासले अन्य अपाङ्गता भएका दिदीबहिनी तथा दाजुभाइलाई आत्मविश्वासका साथ अघि बढ्न प्रेरणा दिने विश्वास लिएको छु ।”

देवकोटाको यो कदम अपाङ्गता भएका महिलाहरूको सशक्तीकरण र समावेशी समाज निर्माणतर्फको महत्वपूर्ण उपलब्धि हो भन्न पनि सकिन्छ ।

नेपालमा साहसिक पर्यटनको क्षेत्र तीव्र गतिमा विस्तार भइरहेको अवस्थामा, दीपा देवकोटाको यो साहसिक कदमले अपाङ्गता भएका व्यक्तिहरूका लागि साहसिक खेलकुद र पर्यटन क्षेत्र पनि पहुँचयोग्य हुनुपर्छ भन्ने मुद्दा लाई थप बल दिएको छ ।

उनले आफ्नो जन्मदिनको दिन यो साहसिक कार्य गरेकी हुन । उनी भन्छिन्, ‘मेरो जन्मदिने आमा बुबालाई यो समाजले अपाङ्गता संन्तान जन्माएको भन्दै सामाजिक र मानसिक रुपमा विभेद गरिरहँदा म चाँही मेरो आमाबुबालाई धन्यवाद दिन चाहन्छु। किनकी यौटी सक्षम र साहसी छोरी जन्म दिनुभएकामा। अपाङ्गताले मेरो जीवनको कुनै पनि अध्यायलाई रोक्ने छैन। त्येसैले मेरो जन्मदिने अभिभावक र मेरो जन्मदिन मेरा लागि खास छ ।’

सिन्धुली अपांग महिला संघकी अध्यक्ष समेत रहेकी देवकोटा राष्ट्रिय अपांग महासंघ नेपालको सदस्य पनि हुन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.