काठमाडौँ । ब्यग्र प्रतिक्षा, निकै चासो र चर्चाबीच नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । बिहान ८ बजेबाट मतदान शुरू हुने भनिए पनि करिब डेढ घण्टा ढिला गरी ९ः३० देखि मतदान शुरू भएको हो।
अध्यक्षका प्रत्याशी केपी शर्मा ओली र ईश्वर पोखरेलले मत हालेर मतदान शुरू गरेका हुन्। यसअघि मंगलबार साँझ हुने भनिएको मतदान केही प्राविधिक समस्याका कारण भन्दै स्थगित गरिएको थियो।
अहिले बिहान पनि मतदानस्थलमा पुग्न ओलीले ढिला गरेपछि मतदानस्थलमा प्रतिनिधिहरू लाइन लागेर पर्खिएका थिए। मतदानका लागि ८० वटा विद्युतीय मेसिन राखिएका छन्। महाधिवेशनमा देशभरबाट आएका दुई हजार दुई सय ६३ प्रतिनिधिले मतदान गर्ने छन्।
अध्यक्षका प्रत्यासी ओली र पोखरेलले प्यानलै बनाएर प्रतिस्पर्धामा उत्रिएका हुन्। दुवै पक्षले आ-आफ्नो प्यानलको सूची बनाएर प्रतिनिधिहरूलाई बाँडेका छन्।
महाधिवेशन प्रतिनिधि बिहानैदेखि लामो लाइनमा लागेर विद्युतीय मतदान मेसिनमार्फत आफ्नो मताधिकार प्रयोग गर्न उत्साहित देखिएका छन्।
देशभरबाट आएका दुई हजार दुई सय ६३ जना प्रतिनिधिले अध्यक्षदेखि केन्द्रीय सदस्यसम्मका विभिन्न पदका लागि मतदान गर्नेछन्।
यस पटकको महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच मुख्य प्रतिस्पर्धा हुँदैछ।
दुवै नेता आआफ्नो प्यानलसहित चुनावी मैदानमा उत्रिएकाले मतदानस्थल वरपर समर्थकको नाराबाजी र भोट माग्ने क्रियाकलापले चुनावी माहोल निकै तातेको छ।
विद्युतीय भोटिङ मेसिनको प्रयोगले मतदान प्रक्रिया विगतको तुलनामा छिटो हुने अपेक्षा गरिए पनि उम्मेद्वारका सूची लामो भएकाले पूर्ण रूपमा मतदान सकिन केही समय लाग्ने अनुमान गरिएको छ।
मतदान सकिएलगत्तै विद्युतीय माध्यमबाटै मतगणना शुरू गरिनेछ र परिणाम पनि छिट्टै सार्वजनिक हुने बताइन्छ।
यस महाधिवेशनले पार्टीको सङ्गठन सुदृढीकरण र भावी राजनीतिक रणनीतिलाई केन्द्रमा राखेर नयाँ नेतृत्व चयन गर्ने लक्ष्य राखेको छ।
नेकपा एमालेले यस ११ औँ महाधिवेशनलाई आगामी निर्वाचन र पार्टीको भविष्यका लागि ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको सङ्कल्प’ का रूपमा लिएको छ।
नयाँ नेतृत्वको चयनसँगै पार्टीले कुन दिशा लिन्छ भन्ने कुरालाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ।
महाधिवेशन अस्तव्यस्त
आफ्ना नेता तथा पदाधिकारीहरुका लागि भोट मागेर पर्चा, पम्पलेट जथाभावी फाल्दा प्रदर्शनीमार्ग क्षेत्र फोहरको डंगुर बनेको छ । उक्त फोहर फाल्न महानगरको ब्रुमरले सफा गरेको छ ।
महाधिवेशनमा मतदान समयमा हुन नसक्दा धेरै कुरा प्रभावित भएको छ । भृकुटीमण्डपको केन्द्रमा महाधिवेशन चलिरहँदा भृकुटीमण्डप क्षेत्र पूरै प्रभावित भएको छ । महाधिवेशनमा मंगलबार मतदान हुने भनिए पनि पटक पटक समय थपेर बुधबार बिहान ८ बजेलाई सारिएको थियो । यसरी मतदान सारिँदा धेरैलाई मर्का परेको छ ।
पुतलीसडक पद्मोदय मोडदेखि राष्ट्रिय सभागृहसम्मको पूरै सडकमा सवारी आवतजावत ठप्प छ । त्यतिमात्र होइन त्यो स्थानमा पर्ने बाल्मिकी, आरआर, नेपाल ल र विश्वभाषा क्याम्पसको पठनपाठन नै प्रभावित भएको छ । महाधिवेशन प्रतिनिधिहरुको बसाई लम्बिएको छ भने आफ्नो निर्धारित तालिकालाई नै प्रभावित पारेपछि केहीले असन्तुष्टि नै व्यक्त गरेका छन् ।





