काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन चुनाव प्रचारप्रसारमा नयाँ र कडा व्यवस्था प्रस्ताव गरेको छ।
विशेषगरी झण्डाको अत्यधिक प्रयोग र भड्किलो प्रचारलाई नियन्त्रण गर्ने उद्देश्यले आयोगले प्रस्तावित आचारसंहितामा यस्तो प्रबन्ध गरेको हो।
प्रस्तावित व्यवस्थाअनुसार कुनै पनि राजनीतिक दलले आमसभा, जुलुस, कोणसभा वा घरदैलो कार्यक्रम गर्दा बढीमा १० वटा मात्र झण्डा प्रयोग गर्न पाउनेछन्।
उम्मेद्वार वा दलको कार्यालयमा ३ × ४ फिटको एउटा झण्डा र सोही नापको चुनाव चिन्ह राख्न पाइने भए पनि अन्य स्थानमा डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड वा श्रव्यदृश्य सामग्री प्रदर्शन गर्न पूर्ण रूपमा निषेध गरिएको छ।
दलको नाम र चिन्ह अंकित एउटामात्र तुल वा फ्लेक्स राख्न पाइने प्रस्तावमा उल्लेख छ।
निर्वाचन प्रचारका लागि घरदैलोमा जाँदा उम्मेदवार, प्रस्तावक र समर्थकसहित बढीमा २५ जना मात्र सहभागी हुन पाउनेछन्। प्रचारका क्रममा बाजागाजा, झाँकी वा कुनै पनि प्रकारका सवारी साधन (मोटरसाइकल, गाडी, साइकल आदि) प्रयोग गरेर र्याली आयोजना गर्न नहुने व्यवस्था गर्न लागिएको छ। साथै, सार्वजनिक स्थानमा झण्डा वा चुनाव चिन्हको तोरण टाँस्न र भित्तेलेखन गर्न पनि रोक लगाइनेछ।
आयोगले अनलाइन, टिभी स्क्रोलिङ, सपिङ मलका डिस्प्ले, एटीएम काउन्टर, कल सेन्टर वा सडक नाटकमार्फत गरिने प्रचारप्रसारमा समेत प्रतिबन्ध प्रस्ताव गरेको छ।
यद्यपि, राजनीतिक दल वा उम्मेदवारले आफ्नो एउटा निजी र आधिकारिक वेबपेजमा भने प्रचार सामग्री राख्न पाउनेछन्।
निर्वाचनलाई अनावश्यक खर्च र तडकभडकबाट मुक्त राख्न यस्तो कडा आचारसंहिता ल्याउन लागिएको आयोगले जनाएको छ।





