काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रसारण संस्था बीबीसीविरुद्ध कम्तीमा १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गरेका छन्।
सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने गरी प्रस्तुत गरिएको आरोप लगाउँदै फ्लोरिडाको मियामीस्थित सङ्घीय अदालतमा यो मुद्दा दर्ता गरिएको हो। सोमबार दायर गरिएको मुद्दामा बीबीसीमाथि कथित मानहानि तथा फ्लोरिडा भ्रामक र अनुचित व्यापार अभ्यास ऐनको उल्लङ्घन गरेको आरोप लगाउँदै दुई छुट्टाछुट्टै गणनाअन्तर्गत ५-५ अर्ब डलर गरी कुल १० अर्ब डलर माग गरिएको छ।
उनासी वर्षीय राष्ट्रपति ट्रम्पले सञ्चारकर्मीहरूसँग कुरा गर्दै बीबीसीले आफ्नो मुखमा शब्दहरू राखिदिएको र वृत्तचित्र सम्पादन गर्दा एआई वा यस्तै कुनै प्रविधिको प्रयोग गरिएको हुनसक्ने आशङ्का व्यक्त गरेका छन्।
सन् २०२४ को राष्ट्रपतीय चुनावको ठीक एक हप्ताअघि बीबीसीको कार्यक्रम ‘प्यानोरामा’ मा उक्त वृत्तचित्र प्रसारण गरिएको थियो, जसमा सन् २०२१ जनवरी ६ का ट्रम्पका भाषणका दुई फरक अंशलाई एकसाथ जोडेर उनले समर्थकहरूलाई क्यापिटलमा आक्रमण गर्न प्रत्यक्ष आग्रह गरेको जस्तो देखाइएको दाबी गरिएको छ। ट्रम्पको कानूनी टोलीले यसलाई चुनावमा हस्तक्षेप गर्ने निर्लज्ज प्रयास र वामपन्थी राजनीतिक एजेन्डाको उपज भनेर टिप्पणी गरेको छ।
यो विवादका कारण बीबीसीभित्र ठूलो उथलपुथल उत्पन्न भएको छ र संस्थाका महानिर्देशक तथा शीर्ष समाचार कार्यकारीले समेत पदबाट राजीनामा दिनुपरेको छ। बीबीसीले कानूनी मानहानिको दाबीलाई अस्वीकार गरे पनि संस्थाका अध्यक्ष समीर शाहले राष्ट्रपति ट्रम्पलाई माफीपत्र पठाएको पुष्टि भएको छ।
शाहले संसदीय समितिसमक्ष बीबीसीबाट गल्ती भएको र सुधारात्मक कदम चाल्नुपर्ने स्वीकार गरिसकेका छन्। राष्ट्रपति ट्रम्पले यसअघि पनि विभिन्न मिडिया कम्पनीहरूविरुद्ध यस्ता कानूनी कारबाहीहरू गर्दै आएका छन्, जसमध्ये धेरै मुद्दाहरू करोडौँ डलरका सम्झौतामार्फत टुङ्गिएका छन्। एजेन्सी





