पोखरा । गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठी, २०८२ पोखरामा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो ।
उक्त अवसरमा गृहमन्त्री ओमप्रकाश अर्यालले सुशासन र भ्रष्टाचार निर्मूल गर्ने जगमा स्थापना भएको वर्तमान सरकारको प्रमुख उद्देश्य नै तोकिएको समयमा निर्वाचन सम्पन्न गरी जनतालाई नयाँ नेतृत्व प्रदान गर्नु रहेको बताए ।
पूर्व निर्धारित कार्य पूरा गर्न आवश्यक सुरक्षा व्यवस्थाका लागि गृहकार्य गरिरहेको उनले बताए ।
स्वच्छ निर्वाचन नै लोकतन्त्रको प्रमुख मर्म रहेकोले यसका लागि आवश्यक वार्ता छलफल र संवादका लागि सरकार सदैव तयार रहेको उनले बताए ।
गृहमन्त्री अर्यालले निर्वाचनको परिवर्तित सुरक्षा चुनौतीलाई मध्यनजर गरी जेन-जी आन्दोलनमा लुटिएका हतियार फिर्ता गर्न र कारागारबाट भागेका कैदीबन्दीलाई फिर्ता गर्न मन्त्रालयले विशेष अपरेसन चलाइरहेको जानकारी दिए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गत भदौ २३ र २४ गते भएको आन्दोलनका कारण खस्किएको सुरक्षाकर्मीको मनोबल, फेरिएको राजनीतिक परिस्थिति र थपिएको सुरक्षा चुनौतीले विगतको भन्दा धेरै जिम्मेवार भएर सुरक्षा योजना बनाउनुपर्ने बताए ।
उनले सरकारले तोकेकै समयमा निर्वाचन सम्पन्न गर्नुपर्ने अन्यथा थप चुनौती सिर्जना हुन सक्ने सम्भावना रहेको दावी गरे ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आन्दोलनका क्रममा न्यूनतम् सतहमा पुगेको नेपाल प्रहरी अपूर्ण जनशक्ति एवं साधन स्रोतका वावजुद उच्च मनोबलका साथ सुरक्षा चुनौतीको सामना गर्न तयार रहेको बताए ।
उनले गोष्ठीबाट प्राप्त भएको निर्देशन तथा पृष्ठपोषणको उच्चतम् सदुपयोग गरी प्रदेशअन्तर्गत प्रभावकारी सुरक्षा व्यवस्थापन र आशन्न निर्वाचन सुरक्षामा प्रदेश स्तरीय निकायबीच प्रभावकारी सहकार्य तथा समन्वयका साथ कार्यसम्पदान गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा गृहसचिव रामेश्वर दंगाल, नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखाको तर्फबाट सहसचिव गोविन्द रिजाल, गण्डकी प्रदेश सरकारका प्रमुख सचिव डण्डुराज घिमिरेलगायतले बोलेका थिए ।
गोष्ठीमा गण्डकी प्रदेशअन्तर्गतका ११ ओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले आआफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवं आगामी कार्यक्रमबारे धारणा राखेका थिए ।





