काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल अहिले हुँदैछ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फाइनलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स मैदानमा छन् ।
खेलमा टस जितेर सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दैछ । दुवैले उपाधि नजितेकाले एनपीएलले आज नयाँ च्याम्पियन पाउनेछ ।
साविक विजेता जनकपुर बोल्ट्स लिगको पुछारमा रहेर बाहिरिएपछि एनपीएलले नयाँ च्याम्पियन पाउन लागेको हो ।
सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले हराउँदै उपाधि नजिक पुगेको हो ।
लुम्बिनीले पनि दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो ।
पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको थियो ।
दिपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम उपाधि दाबेदार टोली हो ।
गत वर्ष फाइनलमा जनकपुर बोल्टससँग पाँच विकेटले पराजित भएको सुदूरपश्चिम यसपटक उपाधि रक्षा गर्ने लक्ष्यमा छ ।
गत संस्करणमा लिग चरणको पुछारमा रहेर बाहिरिएको रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी यसपटक जसरी भए पनि ट्रफी भित्र्याउने दाउमा छ ।
लिग चरणमा भएको यी दुबैबीचको खेलमा सुदूरपश्चिमले सात विकेटको जित हात पारेको थियो ।
एपीएलको विजेताले एक करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।
दोस्रो हुने टोलीले ५१ लाख, तेस्रो टोलीले २५ लाख र चौथो १५ लाख प्राप्त गर्नेछ । विराटनगर तेस्रो तथा काठमाडौँ चौथो भएको छ ।
नेपाल क्रिकेट सङ्घ(क्यान)को आयोजनामा गत मंसिर १ गतेदेखि भएको प्रतियोगितामा आठ टोली सहभागी भए ।





