काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको अन्तरिम सरकारले चार जना मन्त्री थपेको छ । थपिएका चार जनाको आज शपथ ग्रहण भएको छ ।
थपिएका मन्त्रीहरूमा श्रद्धा श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कुमार इङ्नामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, राजेन्द्रसिंह भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र माधव चौलागाईंलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यो विस्तारसँगै मन्त्रिपरिषद् १४ सदस्यीय पुगेको छ । उद्योग र कानून मन्त्रीको जिम्मा पाएका अनिल सिन्हालाई पर्यटन मन्त्रालयको समेत थप जिम्मेवारी दिइएको छ । अन्य मन्त्रीहरूको जिम्मेवारी भने यथावत् छ ।
प्रधानमन्त्री सुशीला कार्कीले परराष्ट्र, रक्षा र खानेपानी मन्त्रालय आफूसँगै राखेकी छिन् ।
जेन-जी आन्दोलनको परिणाम स्वरूप गत भदौ २७ गते गठित अन्तरिम सरकारलाई आगामी फागुन २१ गते प्रतिनिभि सभाको निर्वाचन गर्ने म्यान्डेट रहेको छ ।
मन्त्रिपरिषद्समेत पूर्ण नहुँदा नै चुनावको शंका बढेको छ । फागुन २१ गतेको चुनाव आउन अब जम्मा ८३ दिन बाँकी छ ।




