पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बालबालिकाको सर्वाङ्गिण विकासका लागि ख्याल गर्नुपर्ने बताएका छन् ।
उनले सानै उमेरमा उनीहरूमा अन्तरनिहीत प्रतिभाको पहिचान गरी प्रेरित गर्न जरुरी रहेको उल्लेख गरे ।
नेशनल प्याब्सन, कास्कीको आयोजनामा पोखरामा सञ्चालित दोस्रो बृहत् बालप्रतिभा पहिचान महोत्सव तथा खेलकुद प्रतियोगिताको शुभारम्भ गर्दै प्रदेश प्रमुख भट्टले महोत्सवले बालबालिकाको सर्वाङ्गिण विकासमा योगदान दिने अपेक्षा गरे ।
‘आजको समय सिर्जनात्मकता, नवीनता र समस्या समाधान क्षमताले भरिएको छ । बाल प्रतिभाहरूलाई सही वातावरण, उत्प्रेरणा र प्रोत्साहन दिएर हुर्काउन सकियो भने उनीहरूले समाजमा अभूतपूर्व योगदान दिन सक्छन्’, उनले भने ।
उनले भने, ‘परिवार, विद्यालय र राष्ट्र तीनै तहबाट समानरूपमा सहयोग आवश्यक छ । बालबालिकाको विचार सुन्ने, उनीहरूको जिज्ञासालाई सम्मान गर्ने, गल्तीलाई सिकाइको अवसरका रूपमा लिन मद्दत गर्ने संस्कृति विकास गर्न जरुरी छ ।’
बालबालिकालाई आत्मविश्वासी, सिर्जनशील, जिम्मेवार र सकारात्मक व्यक्तित्वका रूपमा ढाल्ने आधार यस्तै प्रकारका कार्यक्रम रहेको भन्दै उनले प्रतिभा पहिचान र प्रशंसा भएपछि बच्चाको मनोबल बढ्ने र उनीहरूमा सिक्ने चाहना प्रबल हुनुका साथै आफ्नो क्षमताप्रति आँफै गर्व महसुस गर्ने बताए।
उनले भने, ‘हामी सबैले बालबालिकाको रुचि, क्षमता र कल्पनाशक्तिलाई पहिचान गरी तिनलाई सही दिशामा अगाडि बढाउन प्रेरित गर्नुपर्छ ।’
बालबालिकाको प्रतिभालाई बुझ्ने, मूल्यांकन गर्ने र प्रोत्साहन दिने वातावरण बनाउन अब ढिलाई गर्न नहुने बताउँदै उनले विद्यालयहरू बालबालिकाको सिर्जनशीलताको सहजीकरणमा बढी सजग हुन आवश्यक रहेकोमा जोड दिए।
नेसनल प्याब्सनका केन्द्रीय अध्यक्ष सुवास न्यौपानेले एन प्याब्सन कास्कीले गरेका हरेक गतिविध उत्कृष्ट रहेको बताए ।
‘हरेक विद्यार्थीले केहि न केहि क्षमता लिएर आएका हुन्छन्, ती प्रतिभा पहिचान गर्न सके मात्र हरेक विद्यार्थी आफ्नो क्षत्रमा विशिष्टता गर्नेछन्’ उनले भने, ‘यस्तै एक ठाउँमा विविध खालका कार्यक्रमको आयोजना गरेर एन प्याब्सन कास्कीले विद्यार्थी क्षमता उजागर गर्ने काम गरेको छ ।’ उनले अबको शिक्षा जीवन, जगत र प्रविधिसँग जोडिने खालको हुनु पर्ने बताए ।
कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड, गण्डकी प्रदेश पोखराका निर्देशक भाष्करराज पन्त, नेसनल प्याब्सनका केन्द्रीय महासचिव प्रकाश खड्का, हिसान कास्कीका अध्यक्ष दिवाकर जैसी, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल र वड्स एकेडेमीकी नीतु भण्डारीले बोलेका थिए ।
महोत्सव कास्की तथा छिमेकेकी जिल्लाका निजि तथा सामुदायिक विद्यालयका विद्यार्थी, अभिभावकले समेत अवलोकन गरेका छन् ।
महोत्सवमा एनप्याब्सन कास्कीमा आवद्ध ४३ विद्यालयका विद्यार्थीबीच सामूहिक लोक नृत्य, एकल गायन, चित्रकला, कविता वाचन, अभिनय, विज्ञान तथा प्रविधि, हस्तकलाअन्तर्गत पात, पराल र चोयाबाट निर्मित सामग्री र अंग्रेजी वक्तृत्वकलालगायतका कार्यक्रम हुनेछन् ।





