काठमाडौँ । सर्वोच्च अदालतले पुनर्बहालीको आदेश दिएसँगै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आज कार्यभार सम्हालेका छन् ।
जेन-जी आन्दोलनपछि गत असोजमा बर्खास्तमा परेका शाक्यलाई सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले पुनर्बहाली गर्न आदेश दिएको थियो ।
सर्वोच्चले पूर्वाग्रही र प्रतिशोधपूर्ण ढंगले प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको ठहर गर्दै शाक्यको पक्षमा फैसला गरेपछि उनले आज बिहान १० बजे प्राधिकरण पुगेर कार्यभार सम्हालेका हुन् ।
उनले नयाँ कार्यभार सम्हाल्दै विद्युत् प्राधिकरण र मुलुकको हितमा इमान्दार भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उक्त अवसरमा उनले आफ्नो र कुलमान घिसिङसँगको आफ्नो सम्बन्धबारे स्पष्ट पार्दै दुवै जना प्राधिकरणको ‘क्याडर’ भएको बताए ।
उनले आफूहरूले ऊर्जा क्षेत्रलाई समान हिसाबले बुझेको बताए ।
शाक्यले ऊर्जामन्त्री घिसिङसँग कसरी काम अगाडि बढ्छ भन्ने चासो रहेको उल्लेख गरे ।
उनले भने, ‘ऊर्जामन्त्रीज्यू र म दुवै प्राधिकरणका क्याडर हौँ। मैले ३०-३५ वर्ष काम गरेँ, उहाँले पनि ३० वर्ष जति काम गर्नुभयो। त्यसैले हामीले यो क्षेत्र दुवै जनाले एकै हिसाबले बुझेका छौँ होला जस्तो लाग्छ।’





