काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज अपराह्न ४:०० बजे महत्त्वपूर्ण इलिमिनेटर खेल हुँदैछ।
यो खेलमा लिग तालिकाको तेस्रो स्थानमा रहेको काठमाडौँ गोर्खाज र चौथो स्थानमा रहेको लुम्बिनी लायन्स भिड्दैछन्।
लिग चरणको खेलमा काठमाडौँले लुम्बिनीलाई २२ रनले पराजित गरेको थियो।
आजको खेल जित्ने टोलीले दोस्रो क्वालिफायर मा प्रवेश पाउनेछ, जहाँ उक्त विजेता टोलीले भोलि (मङ्सिर २५ गते) पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको विराटनगर किङ्ग्स सँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।
सुदूरपश्चिम एनपीएलको फाइनलमा
सुदूरपश्चिम रोयल्स लगातार दोस्रोपटक नेपाल प्रिमियर लिग एनपीएल टी-२० क्रिकेटको फाइनलमा पुगेको छ । मंगलबार भएको पहिलो क्वालिफायर खेलमा विराटनगर किंग्समाथि शानदार ७७ रनको जित हासिल गर्दै सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा पुगेको हो ।
खेलमा १५६ रनको चुनौती पछ्याएको विराटनगरले कमजोर प्रदर्शन गर्दै १४ ओभर १ बलमा अलआउट हुँदै ७८ रन बनायो ।
दोस्रो ओभरमै ३ रन जोड्दा ३ विकेट गुमाएको विराटनगरका लागि फाफ डु प्लेसिसले २९ बलमा ३६ रन बनाए । हरमित सिंह, स्कट कुग्गेल्जेन र अविनाश बोहराले समान २ विकेट लिए ।
यसअघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ७ विकेटको क्षतिमा १५५ रन बनायो । ओपनर विनोद भण्डारीले संयमित ब्याटिङ गर्दै अर्धशतक बनाए । उनले ५२ बलमा ६३ रन जोडे ।
त्यस्तै शेल्डन ज्याक्सन र आरिफ शेखले समान २० रन जोडे । मर्चेन्ट डे लाङ्गे र प्रतिश जीसीले समान २ विकेट लिए ।
लिग तालिकाको शीर्ष स्थानमा रहेर सुदूर तथा दोस्रो स्थानमा रहेर विराटनगरले पहिलो क्वालिफायर खेलिरहेको हो । लिग चरणमा भने विराटनगरले सुदूरलाई ६ विकेटको जित हासिल गरेको थियो ।
पराजित विराटनगरले फाइनल प्रवेशका लागि अर्को मौका पाउने छ । बुधबार हुने इलिमिनेटर खेलको विजेतासँग बिहीबार विराटनगरले खेल्नेछ । बुधबारको इलिमिनेटरमा लुम्बिनी लायन्स र काठमाडौँ गोर्खाज भिड्ने छन् ।
लिग चरणामा अंक तालिका
आठ टिम सहभागी एनपीएलमा सुदूरपश्चिम १२ अंकसहित शीर्ष स्थानमा रहेर लिग चरण सकाएको छ । विराटनगर रन रेटमा काठमाडौँ गोर्खाजलाई पछि पार्दै १० अंकसहित दोस्रो स्थानमा छ ।
अब पहिलो क्वालिफायरमा सुदूर र विराटनगर खेल्नेछन् भने इलिमिनेटरमा काठमाडौँ र लुम्बिनी लायन्स खेल्नेछन् । लुम्बिनी ८ अंकसहित चौथो हुँदै प्लेअफमा पुगेको हो ।
योसँगै बाँकी चार टिम प्लेअफ होडबाट बाहिरिएका छन् । पोखरा एभेन्जर्स ७ खेलमा ६ अंकसहित पाँचौँ स्थानमा रह्यो । कर्णाली याक्स ७ खेलमा ४ अंकसहित छैटौँ स्थानमा रहन पुग्यो ।
चितवन राइनोज ७ खेलबाट ४ अंकसहित सातौँ स्थानमा रह्यो । साविक विजेता जनकपुर ७ खेलबाट २ अंकसहित पुछारमा रह्यो ।





