पोखरा । पृथ्वीराजमार्गअन्तर्गत मलेखु नौबिसे नागढुङ्गा सडकखण्ड दैनिक पाँच घण्टा बन्द गर्ने निर्णय गरिएको छ ।
राजमार्ग स्तरोन्नतिको काम अपेक्षित प्रगति नभएपछि सरकारले हरेक दिन पाँच घण्टा सडक बन्द गरेर कामको गति बढाउने निर्णय गरेको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सरोकारवाला सबैलाई केही दिन अघि आमन्त्रण गरी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको थियो ।
निर्माण व्यवसायी र सम्बन्धित आयोजनाले सवारी साधन निरन्तर आवतजावत हुँदा सडक निर्माणले गति लिन नसकेको निष्कर्ष निकालेका थिए ।
ट्राफिक व्यवस्थापन गरी सडक निर्माणलाई गति दिने लक्ष्यका साथ यही मंसिर २४ गतेदेखि आगामी पुस १ गतेसम्म दैनिक पाँच घण्टा सडक बन्द गर्ने निर्णय गरिएको बताइएको छ ।
यो निर्णयसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौँ र धादिङले संयुक्त रुपमा सूचना प्रकाशित गरी राजमार्ग बन्द हुने जनाएको छ ।
त्रिभुवन राजपथको नागढुङ्गा नौबिसे सडकखण्ड कालोपत्र गरी स्तरोन्नति सम्पन्न हुने चरणमा छ । सोही क्रममा उक्त सडकको काठमाडौँ जिल्लाभित्र पर्ने नागढुङ्गा पिप्लामोड खण्ड कालोपत्र उच्च प्राथमिकताका राखिएको छ ।
सो सडकखण्ड अन्यत्र भन्दा साँघुरो भएको र कालोपत्रका लागि एकै पटकमा धेरै गह्रौँ उपकरण तथा ढुवानीका साधन परिचालन गर्नुपर्ने हुन्छ ।
यसैगरी धादिङको गल्छी-गजुरी खण्ड पनि साँघुरो र जोखिमपूर्ण रहेकाले पोखरेभिर क्षेत्रमा सडक चौडा गर्नुपर्ने आयोजनाले जनाएको छ ।
सूचना अनुसार नागढुङ्गा देखि पिप्लामोडसम्म र पोखरेभिर क्षेत्रमा यही मङ्सिर २४ गतेदेखि आगामी पुस १ गतेसम्म बिहान १०ः३० देखि अपराह्न ३ः३० बजेसम्म सडक आवागमन बन्द हुनेछ ।
सो समयमा वैकल्पिक सडक प्रयोग गरिदिन तथा आफ्नो यात्रा समयलाई सो समय भन्दा अगाडि वा पछाडि व्यवस्थापन गर्न सूचनामा आग्रह गरिएको छ ।
सो समयमा काठमाडौँबाट नौबिसेतर्फ जाने सवारी साधन नागढुङ्गा चेकपोस्टमा रोकिनेछ । सूचनामा अत्यावश्यकीय प्रकृतिका एम्बुलेन्स, सुरक्षा निकायका सवारी साधन, दमकल, शव वाहन जस्ता सवारीसाधनको आवागमन ट्राफिक प्रहरीबाट सहजीकरण हुने जनाइएको छ ।
मुग्लिङबाट काठमाडौँ जाने सवारी साधन खानीखोला (नौबिसे), जुंगेखोला (थाक्रे), गल्छी-गजुरी खण्डको लागि गल्छी, बैरेनी र मासटारमा रोकिनेछ ।
साथै साना तथा मझौला सवारीसाधनले अत्यावश्यक अवस्थामा वैकल्पिक मार्ग प्रयोग गर्न सक्नेछन् । सूचना अनुसार सीतापाईला भीमढुङ्गा, रामकोट धार्के सडक, सामाखुसी टोखा–छहरे सडक वैकल्पिक रुपमा प्रयोग गर्न सकिने छ ।
रोकिएका सबै सवारीसाधनलाई अपराह्न ३ः३० बजेपछिमात्र छाडिने सूचनामा उल्लेख छ ।





