काठमाडौँ । काठमाडौँ गोर्खाजले नेपाल प्रिमियर लिग एनपीएल टी-२० क्रिकेटको प्लेअफमा पुगेको छ । काठमाडौँले पहिलो क्वालिफायर खेल्ने सम्भावनासमेत बढेको छ ।
लिगको २३ औँ खेलमा पोखरा एभेन्जर्समाथि रोमाञ्चक १३ रनको जित हासिल गरेसँगै काठमाडौँले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायर खेल्ने सम्भावना बढेको हो ।
खेलमा १६६ रनको चुनौती पछ्याउने क्रममा अलआउट हुदै १५२ रनमात्र बनाउन सक्यो । ऋषि धवनले ३१ बलमा ५४ तथा धनन्जय लक्षणले २७ बलमा ३० रन जोडे ।
शहाब आलमले २५ रन खर्चेर ह्याट्रिकसहित ६ विकेट लिए । उनी एनपीएलमा ह्याट्रिकसहित ६ विकेट लिने पहिलो खेलाडी हुन् । मिलिन्द कुमारले एकै खेलमा पाँच क्याच गरेका छन् ।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले ८ विकेट गुमाएर १६५ रन बनायो । ओपनर बेन चार्लसवर्थले ५५ बलमा ६४ रन बनाए । त्यस्तै भीम शार्कीले २३ बलमा ५५ रन बनाए । धनन्जय लक्षणले १६ रन खर्चेर ४ तथा कुशल भुर्तेलले २५ रन खर्चेर २ विकेट लिए ।
आजको अर्को खेलमा अपरान्ह चितवन राइनोजले सुदूरपश्चिम रोयल्ससँग खेल्ने तालिका छ ।
अपराजित सुदूर यो खेल जित्दा शीर्ष स्थानमा कायमै रहने छ । प्लेअफ सम्भावना जीवित राख्न चितवनलाई जित्नैपर्ने दबाब छ ।
आठ टिम सहभागी एनपीएलमा अहिलेसम्म सुदूरपश्चिममात्र अपराजित रहेको छ । सुदूरले खेलेका पाँच ओटै खेल जितेको छ । सुदूर प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ ।
काठमाडौँ गोर्खाज ७ खेलमा १० अंकसहित दोस्रो स्थानमा रहेको छ । काठमाडौँ प्लेअफमा पुग्ने दोस्रो टिम हो । विराटनगर ६ खेलमा चार खेल जितेर ८ अंकसहित तेस्रो स्थानमा छ । लुम्बिनी लायन्स ६ खेलमा ६ अंकसहित चौथो स्थानमा छ भने पोखरा एभेन्जर्स ६ खेलमा ४ अंकसहित पाँचौँ स्थानमा छ । चितवन राइनोज ५ खेलबाट ४ अंकसहित पाँचौँ स्थानमा छ ।
कर्णाली याक्स ६ खेलमा २ अंकसहित सातौँ स्थानमा छ । साविक विजेता जनकपुरमात्र ५ खेलबाट २ अंकसहित पुछारमा छ ।





