काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि ७५ जिल्लामा प्रतिनिधि छनोट टुङ्गिएको छ ।
महाधिवेशन प्रतिनिधि व्यवस्थापन समितिका सचिव माधव ढुङ्गेलका अनुसार ओखलढुङ्गा र धनकुटाबाहेक सबै भूगोल, गैरभूगोलको प्रतिनिधि छनोट सकिएको छ ।
उनले ती दुई जिल्लामा पनि चार दिनभित्रमा प्रतिनिधि निर्वाचन गरेर टुङ्ग्याउन निर्देशन दिएको जानकारी दिए ।
केही जिल्लामा प्रतिनिधि छनोट विधिअनुसार नभएकाले छानबिन भइरहेको उनले बताए । सचिव ढुङ्गेलले सबै जिल्लाबाट छनोट गरिएका प्रतिनिधि प्रदेश कमिटीको कार्यालयमा विवरण सङ्कलन भइरहेको जानकारी दिए ।
“प्रतिनिधिका विवरण प्रदेश कमिटीमा महाधिवेशन शुल्कसहित सङ्कलन भइरहेको छ”, उनले भने, “एक दुई दिनमा सवै प्रतिनिधिको विवरण केन्द्रीय कार्यालयमा आउने छ र हामीले उक्त प्रतिनिधि कार्ड बनाएर वितरण गर्ने छौँ ।”
महाधिवेशनमा करिब दुई हजार दुई सय प्रतिनिधि सहभागी हुने छन् ।
महाधिवेशनमा सहभागी हुने आयोजकलाई तीन हजार र प्रतिनिधिलाई रु दुई हजार शुल्क तोकिएको छ ।
एमाले महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म हुँदैछ ।





