काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी-२० क्रिकेटमा पोखरा एभेन्जर्सले प्लेअफ सम्भावना कायमै राखेको छ ।
लिगको २१ औँ खेलमा कर्णाली याक्समाथि ३४ रनको जित हासिल गर्दै पोखराले प्लेअफ सम्भावना जीवित राख्दा कर्णाली भने होडबाट बाहिरिएको छ ।
खेलमा कर्णालीले टस जितेर पहिले बलिङ गरेसँगै ब्याटिङको निम्तो पाएको गण्डकीले २ विकेटको क्षतिमा २०१ रन बनायो । एडम रोसिङटनले ५८ बलमा अविजित रहँदै १०८ रन बनाए ।
दोस्रो विकेटका लागि रोसिङटनसँग मिलेर १२७ रनको साझेदारी गर्ने क्रममा जासन रोयले ३४ बलमा ४६ रन बनाए ।
जवाफमा कर्णालीले १९ ओभरमा १६७ रन बनाएर अलआउट भयो । मार्क वाटले ३४ बलमा ५९ रन बनाए पनि टिमलाई जिताउन सकेनन् ।
पोखराका धनन्जय लक्शन र ऋषि धवनले समान ३ विकेट लिए ।
जितले पोखराले प्लेअफ सम्भावना जीवित राख्दा कर्णाली भने एक खेल खेल्न बाँकी छँदै होडबाट बाहिरिएको छ । कर्णाली औपचारिक रुपले नै बाहिरिने पहिलो टिमसमेत बनेको छ ।
आठ टिम सहभागी एनपीएलमा अहिलेसम्म सुदूरपश्चिममात्र अपराजित रहेको छ । सुदूरले खेलेका पाँच ओटै खेल जितेको छ । सुदूर प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ ।
काठमाडौँ गोर्खाज ६ खेलमा ८ अंकसहित दोस्रो स्थानमा रहेको छ । विराटनगर पाँच खेलमा चार खेल जितेर ८ अंकसहित तेस्रो स्थानमा छ ।
पोखरा एभेन्जर्स ५ खेलमा ४ अंकसहित चौथो स्थानमा छ । चितवन राइनोज ५ खेलबाट ४ अंकसहित पाँचौँ स्थानमा छ ।
लुम्बिनी लायन्स ५ खेलमा ४ अंकसहित छैटौँ स्थानमा छ । कर्णाली याक्स ६ खेलमा २ अंकसहित सातौँ स्थानमा छ । साविक विजेता जनकपुरमात्र ५ खेलबाट २ अंकसहित पुछारमा छ ।





