पोखरा । नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेपालमा दर्ता नभएका मेटालगायतका सामाजिक सञ्जाल फेरि बन्द गर्नुपर्ने बताएका छन् ।
प्रेस चौतारी नेपालले सोमबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
पूर्वसञ्चारमन्त्री समेत रहेका गुरुङले नेपालमा व्यवासाय गर्ने सबैले नेपालको कानून मान्नुपर्ने बताए ।
गुरुङ सञ्चारमन्त्री भएको बेलामा नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गरिएको थियो ।
तर जेन-जी आन्दोलनका कारण फेरि ती सञ्जाल खुला भएका थिए ।
उपमहासचिव गुरुङले विशेष परिस्थितका कारण नियमनमा नरहेका समाजिक सञ्जाललाई हाल खुला गरे पनि कुनै नै कुनै दिन अवश्य बन्द हुने दाबी गरे ।
नेपालमा साना व्यवसाय गर्ने कम्पनी दर्ता गर्नुपर्ने तर अर्बौंको कारोबार गर्ने सामाजिक सञ्जाल दर्ता नहुने भन्ने नहुने उनले बताए ।
उनले आफूले पटक-पटक प्रयास गर्दा पनि ती कम्पनीले नेपाल सानो देश भनेर हेपेको उल्लेख गरे ।
दर्ता गर्नका लागि १३ महिनाको समय दिए पनि उनीहरूले नटेरेपछि नियमन गर्नका लागि आफूले बन्द गरेको उनले स्मरण गरे ।
उनले सामाजिक सञ्जाललाई नियमन गर्न जरुरी रहेको बताए ।
उनले नेपालमा सामाजिक सञ्जाल बन्द भए पनि मेटालगायतका केही कम्पनीले कन्टेन क्रियटरहरूलाई पैसा दिन लागेको पनि बताए । त्यहाँभन्दा अगाडि नेपाली कन्टेनक्रियटरहरूले रकम नपाउने गरेको उनको भनाइ छ ।
उनले आगामी दिनमा नेपालमा दर्ता नभएका कम्पनीहरू बन्दा गर्दा विकल्प दिएर मात्रै बन्द गर्ने बताए ।
हाल नेपालमा धमाधम वैकल्पिक एपहरूसमेत खुल्दै गरेको उल्लेख गर्दै उनले विकल्प दिएर विदेशी कम्पनीहरू राज्यले नियमन गर्नैपर्ने दोहोर्याए ।





