काठमाडौँ । औषधि व्यवसायीहरूले आफूहरूको माग सुनुवाई नगरेको भन्दै सरकारको आलोचना गरेका छन् ।
सोमबार पनि काठमाडौँको नयाँबानेश्वरस्थित औषधि व्यवस्था विभागको कार्यालयमा धर्ना दिन पुगेका उनीहरूले आफूहरूको माग सुनुवाई नगरेको र धर्नामा बस्न पनि नदिने गरी प्रहरी परिचालन गरिएको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतम र गृहमन्त्री ओमप्रकाश अर्यालको आलोचना गरेका हुन् ।
सरकारले आफूहरूको मागको सुनुवाई गर्नुको साटो शान्तिपूर्ण रुपमा धर्नामा बस्ने अधिकार समेत हनन गरेको भन्दै औषधि व्यवसायी गोपालराज पाण्डेले आपत्ति जनाए ।
उनले आफूहरूको माग तत्काल सुनुवाई नगरे सबै व्यवसाय बन्द गरेर सडक संघर्षमा आउन बाध्य हुने चेतावनी समेत दिए ।
औषधि व्यवसायीहरूले व्यवसायिक नविकरण ढिला भएमा स्वतः व्यवसाय रद्ध हुने लगायतका प्रावधान हटाउन सरकारसँग माग गर्दै सो विभागको कार्यालयमा दैनिक धर्ना दिँदै आएका छन् ।
व्यवसायी पाण्डेले सरकारले आफूहरूको माग सम्बोधन गर्नुको सट्टा शान्तिपूर्ण रुपमा धर्नामा बस्न पनि नदिने गरी प्रहरी परिचालन गरेकाले प्रतिवादमा उत्रनुपर्ने अवस्था आएको बताए ।




