Nidan Media

आज मोक्षदा एकादशी मनाइँदै [विधि र व्रत कथासहित]

पोखरा । मंसिर महिनाको शुक्ल पक्षको एकादशीलाई मोक्षदा एकादशी भनिन्छ । जसको अर्थ नै मोक्ष प्रदान गर्ने दिन हो।

यो पवित्र व्रतपर्वले सम्पूर्ण जीवहरूलाई पापबाट मुक्त गरी मोक्ष प्राप्त गराउने विश्वास गरिएको छ।

यस दिन केशव नारायण (मंसिर महिनामा विष्णुको नाम) को तुलसी मञ्जरी, धूप, दीप, फलफूल आदिसहित श्रद्धापूर्वक पूजा गर्दा सम्पूर्ण पापहरूको नाश भई मोक्ष प्राप्त हुने शास्त्रीय मान्यता छ।

यही दिन महाभारत युद्ध आरम्भ भएको थियो र युद्ध त्यागेर अर्जुनलाई भगवान श्रीकृष्णले श्रीमद्भगवद गीताको उपदेश दिनुभएको थियो। त्यसैले यो दिनलाई गीता जयन्तीको रूपमा पनि मनाइन्छ। शास्त्रमा यसै दिनदेखि दैनिक गीता पाठ सुरु गर्नुपर्ने सल्लाह दिइएको छ।

व्रत विधि 

मोक्षदा एकादशीको व्रत विधि अरु एकादशी जस्तै नै हो। दशमीका दिन बेलुका सात्विक भोजन गरी एकादशीका दिन बिहान ब्रह्ममुहूर्तमा उठेर स्नान गरी सूर्यलाई जल अर्पण गर्ने चलन छ।

त्यसपछि घर आएर शुद्ध लुगा लगाई पूजा कोठामा विष्णु भगवान्को तस्बिर वा प्रतिमा राखी उनको श्रद्धापूर्वक पञ्चामृत चढाई षोडशोपचारले नैवेद्य, भेटी, तिल र तुलसीपत्र चढाई पूजा गर्नुपर्छ।

दिउँसो एकादशी माहात्म्य श्रवण वा पाठ गर्नु उपयुक्त हुन्छ। बेलुकी आरती र भजनकीर्तन गर्दै जाग्राम बस्न सकिन्छ। द्वादशीको बिहान पुनः स्नान गरी पूजा गरी ब्राह्मणलाई टीका, दक्षिणा र भोजन गराएर बिदा गरेपछि आँफै पनि व्रत समाप्त गरी भोजन गर्नुपर्छ। यसरी व्रत गरेमा जानी नजानी गरिएका सबै पापहरू नष्ट भई पुण्य प्राप्त हुन्छ र मरणपछि स्वर्ग प्राप्त हुने विश्वास गरिन्छ।

व्रत कथा 

पद्म पुराणका अनुसार, द्वापर युगमा युधिष्ठिरले भगवान् श्रीकृष्णसँग मोक्षदा एकादशीको जिज्ञासा राख्दा उहाँले एउटा प्राचीन कथा सुनाउनुभयो। कथा अनुसार कुनै राज्यमा वैखानस नामका धर्मपरायण राजा थिए। यी राजाका पालामा राज्य सुखी र समृद्ध थियो।

एक रात राजा बैखानसले सपनामा आफ्ना दिवंगत पितालाई नरकमा यन्त्रणामा परेको देखे, जसले उनलाई अत्यन्तै दुःखी बनायो। बिहान भएको साथसाथै उनले यो समस्याको समाधान खोज्न ज्ञानी, ज्योतिष र पण्डितहरूको सल्लाह लिए। उनीहरूले राजालाई त्रिकालदर्शी ऋषि पर्वतलाई भेट्न सल्लाह दिए।

पर्वत मुनिले ध्यानपूर्वक राजा बैखानसको कुरा सुनेर बताए कि उनका पिताले जीवनमा कुनै ठूलो पाप गरेका थिए, जसको फलस्वरूप उनी नरकको यातना भोगिरहेका थिए।

जब राजाले आफ्नो पिताको उद्धार कसरी गर्न सकिन्छ भनेर सोधे, तब मुनिले मार्गशुक्ल एकादशी (मोक्षदा एकादशी) को व्रत विधिपूर्वक गरी, प्राप्त सबै पुण्य पिताको नाममा समर्पण गर्न सुझाए। मुनिले सम्पूर्ण व्रतविधि पनि बताए।

ऋषिको निर्देशनअनुसार राजा बैखानसले श्रद्धापूर्वक मोक्षदा एकादशीको व्रत बसेर सम्पूर्ण पूजाआदि गरे र त्यो पुण्य आफ्ना पिताको नाममा अर्पण गरे। व्रतको प्रभावले उनका पिताले नरकबाट मुक्ति पाई स्वर्ग प्राप्त गरे।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.