पोखरा। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पनि दुई खेल हुँदै छन् । आज हुने दुवै खेल निकै रोमाञ्चक हुनेछ ।
त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल बिहान ११:४५ बजे चितवन राइनोज र काठमाडौँ गोर्खाजबीच हुनेछ भने दोस्रो खेल अपराह्न ४:०० बजे कर्णाली याक्स र विराटनगर किङ्स बीच हुनेछ।
अङ्क तालिकामा चितवन चार अङ्कका साथ तेस्रो स्थानमा छ भने काठमाडौँले खेलेका खेलमा दुई अङ्क मात्र बटुलेको छ। यस्तै तीन खेलबाट दुई अङ्क जोडेको कर्णालीलाई प्लेअफको यात्रा कायम राख्न जित्नैपर्ने दबाब छ।
अङ्क तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले चार खेलबाट छ अङ्क जोडेको छ। आजको खेल जितेमा विराटनगरको प्लेअफको यात्रा सहज हुनेछ।
आठ टिम सहभागी एनपीएलमा अहिलेसम्म सुदूरपश्चिममात्र अपराजित रहेको छ । सुदूरले खेलेका चार ओटै खेल जितेको छ । सुदूर प्लेअफ नजिक पुगेको छ ।
विराटनगरले चार खेल खेलेकामा शुरुआती तीन खेल जिते पनि चौथो खेलमा हार बेहोरेको छ ।
चितवन तीन खेलबाट दुई जितसहित ४ अंकबाट तेस्रो तथा काठमाडौँ ४ खेलमा दुईमा जित र दुईमा हार बेहोर्दै ४ अंकसहित चौथो स्थानमा छ ।
कर्णालीले तीनमध्ये एक खेल जितेर पाँचौँ स्थानमा छ । पोखरा ३ खेलमा एक खेल जितेर २ अंकसहित छैटौँ स्थानमा छ ।लुम्बिनी ४ खेलमा एक खेलमात्र जितेर २ अंकसहित सातौँ स्थानमा छ ।
साविक विजेता जनकपुरमात्र ३ खेलबाट अंकविहीन छ । अब एक खेल हार्दा जनकपुर प्लेअफ होडबाट बाहिरिनेछ ।





